रुकुम पूर्व, माघ २५: आफ्नैं गृहजिल्ला गएका पुर्वमन्त्री सहित अन्य चारजना माथि स्थानीय जनताले मारपिट गरेका छन्। रुकुम पश्चिमबाट गृह जिल्ला रुकुम पूर्व जान लागेका नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट गरिएको हो।
रोकासँगै गएका नेकपाका जिल्ला नेता सतमान पुन मगर, पुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुनमगर माथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् । आन्दोलनकारीहरुले रुकुमकोट प्रवेश गर्नु पहिल्यै रानीकोट भन्ने ठाउँमा आफूहरूमाथि कुटपिट गरेको रोकाले बताए । नेता रोकाले भने, “गाडी रोक्न बसेका मान्छेहरु देखेर हामीले गाडि फर्काएर हिँडेर जाँदै गर्दासमेत लछारपछार पारियो” उनले अगाडी थप्दैं भने, “फेरि रुकुमकोट पुग्न लाग्दा मोटरसाइकलको हेलमेट र लात्तिले प्रहार गरियो ।”
कुटपिटबाट रोकाको गर्दनको भागमा चोट लागेको र कानमा समस्या आएको छ । नेकपाका नेता सतमान पुनले आफूहरूमाथि सांघातिक हमला गरी रानिकोटबाट रुकमुकोटसम्म कुटपिट गर्दै लगिएको बताए । रुकुम पूर्वको सदरमुकाम गोलखाडा स्थापनाका लागि सरोकार समितिको तर्फबाट कार्यक्रमको बारेमा प्रशासनसहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको जनाइएको छ ।
रुकुमकोट सदरमुकाम आन्दोलन संर्घष समितिले भने उनीहरु रुकुमकोटमै बसेर वार्ता गरौं भन्दा नमानेर गोलखाडा जान खोजेपछि झडप भएको बताएको छ । आन्दोलन चलिरहेको बेलामा बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीहरुले बताएका छन् । स्थानीय मेडिकलमा उपचार गरेपछि उनीहरु अहिले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा राखिएको छ।