गृहको आँखा ठेकेदार: लामोसाँघु–जिरी सडक ठेकेदार प्रहरी खोरमा

रिपोर्ट नेपाल | 2018 Jun 07 | 11:34 am 907

सिन्धुपाल्चोक, जेठ २४: गृहमन्त्रीको आदेश लगत्तै काम नगर्ने ठेकेदार र निर्माण कम्पनीको सूची तयार गरेर पक्राउ गर्ने काम सुरु गरिएको छ ।

सम्झौता अवधि नाघ्दा पनि लामोसाँघु–जिरी सडक स्तरोन्नतिको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । खिम्ती निर्माण कम्पनीका प्रोप्राइटर धर्मराज भण्डारी (भीमसेन) लाई बुधबार चौतारा बजारबाट नियन्त्रणमा लिइएको हो।

उनी करिब चार महिनादेखि काम अलपत्र छाडेर सम्पर्कविहीन थिए। खिम्तीले बलेफी गाउँपालिकाको खाडीचौर बजारदेखि मुढेसम्म २५ किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको थियो।

प्रतिबद्धताअनुसार काम नगरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। ‘काम नसकी बेपत्ता भएका भण्डारीको खोजी गरिरहेका थियौं,’ उनले भने। निर्माण कम्पनीको लापरबाहीका कारण लामोसाँघु–जिरी सडकखण्डमा सुरुदेखि नै कामले गति लिन सकेको थिएन। खनेर अलपत्र छाडिएपछि सडक अहिले झन् जीर्ण हुन पुगेको छ। एक्जिम बैंक अफ इन्डियाको लगानीमा सरकारले स्तरोन्नति गरिरहेको सडक सम्झौताअनुसार ०७४ असार मसान्तमै तयार भइसक्नुपर्थ्यो।

खाडीचौरदेखि मुढेसम्म सुनौलो खिम्तीको मुख्य जिम्मेवारीमा भारतीय निर्माण कम्पनी हिमाञ्चल र नेपाली कम्पनी गौरीपार्वतीले साझेदारीमा काम गर्दै थिए। खिम्तीले करिब ५० प्रतिशत मात्रै काम सकेको छ। सडकको नबन्दा चरिकोट, जिरी जाने कतिपय यात्रुहरू धुलिखेल, खुर्कोट, मन्थली हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन्।

उक्त सडक बने दोलखा, रामेछापदेखि जिल्लाको लिसंखुपाखर गाउँपालिकासम्मका यात्रुलाई सहज हुनेछ । खाडीचौरबाट सुरु हुने दोलखा, चरिकोटसम्मको ५५ किमि सडक निर्माणाधीन अवस्थामा छ।

हिलो र खाल्डाका कारण दिनहुँजसो दुर्घटना र जाम भइरहने गरेको जिल्ला ट्राफिक प्रमुख उपेन्द्र बुढाथोकी सुनाउँछन्। ‘जीर्ण सडककै कारण रातदिन यस्ता घटना भइरहेका छन्,’ उनले भने । क्षतिग्रस्त स्थान मर्मत गरिदिए मात्रै पनि दुर्घटना र जाम कम हुने स्थानीयको भनाइ छ । दुई प्याकेजमा भइरहेको सडक विस्तारको पहिलो खण्ड जिम्मा लिएको ठेकेदार कम्पनीले गत भदौमा एक सातासम्म काम ठप्प पारेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.