काठमाडौं, असार ३१ः २०१८ सालको सशस्त्र आन्दोलनका योद्धा एवम् नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. १ का क्षेत्रीय सभापति अशोक कुमार थापाको बिहीबार बिहान ललितपुरको ब्लड अस्पतालमा निधन भएको छ ।

विगत चार महिनादेखि फोक्सोको रोगबाट पीडित थापाको आज बिहान ७४ वर्षको उमेरमा निधन भएको थियो ।
२००४ सालमा जन्मीएका थापाले तत्कालिन नेपाली कांग्रेका नेता मोहनसिंह थापाको कमाण्डमा भएको सशस्त्र संघर्षमा १४ वर्षको कलिलो उमेरमै हतियार उठाएका थिए ।
शहिद गंगाबहादुर थापालाई राणा बिरोधी आन्दोलनमा लागेको भन्दै तत्कालिन शासकले हालको अर्घाखाँची चिदिकामा हत्या गरेका थिए ।
राणा विरोधी आन्दोलनमा लागेका गुल्मी दरबार चिलौनी पोखराका थापा खलकलाई शहिद परिवार भनेर चिनिने गरिन्छ ।
आफ्ना बाबुको प्रेरणाबाट कांग्रेस राजनीतिमा लागेका अशोक थापा २०१८ को सशस्त्र संघर्षपछि भारत प्रवासमा गई देहरादुनबाट शिक्षा हासिल गरेको बताइन्छ ।
देहरादुनबाट फर्किएपछि आफ्नै जन्मभुमिमा रहेको इश्वरी माध्यमिक विद्यालयमा लामो समय शिक्षण पेशा गरेको थापाका भतिज मुकेश थापाले बताए ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थापा गुल्मी जिल्ला विकास समितिको इलाका सदस्य हुँदै हाल गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष हुन् ।

थापालाई श्रद्धाञ्जली अर्पण गर्नका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला, चन्द्र भण्डारी, नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, पूर्व सभापति चन्द्र केसी, प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्की, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मोहन ज्ञवाली, महासमिति सदस्य भरत बस्नेत लगायतका नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो ।
थापाको पार्थिव शरीरलाई जन्म स्थान गुल्मी चारपाल लगेर श्रद्धाञ्जली दिएपछि गुल्मी कांग्रेसको पार्टी कार्यालय लैजाने कार्यक्रम रहेको छ । पार्टी कार्यालयको श्रद्धाञ्जली कार्यक्रमपछि गुल्मी दरबार गाउँपालिकाको कार्यालयमा लगेर पवित्र पुण्य भूमि कालीगण्डकीको किनारमा अन्त्यष्टी गर्ने कार्यक्रम रहेकोनेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिएका छन् ।
स्वर्गीय थापाको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लालाई मात्र नभएर मुलुकको लोकतान्त्रीक आन्दोलनलाई अपुरणिय क्षति पुगेको बताए । स्वर्गीय थापाका एक श्रीमती र चार छोरा रहेका छन् ।