गुल्मीमा प्रसुती सेवा दिन घरघरमा गाडियो ‘गर्भवती झण्डा’

रिपोर्ट नेपाल | 2018 Jul 10 | 12:29 pm 3291

बुटवल, असार २६: गुल्मी दरबार गाउँपालिकाले गर्भवति पहिचान गरी प्रसुती सेवा उपलब्ध गराउन घरघरमा ‘गर्भवति झण्डा’ गाड्ने अभियानको शुरुवात गरेको छ।

हरेक गर्भवती महिलालाई चिनौ र उनीहरुलाई संस्थागत रुपमा प्रसुती सेवा उपलव्ध गराऔं भन्ने नाराका साथ गाउँपालिका कार्य समितिले यस्तो अभियान थालेको स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताए ।

जिल्लामा गर्भवती महिलाहरुका लागि पूर्ण संस्थागत प्रसुती क्षेत्र घोषणा गर्ने गुल्मी दरबार गाउँपालिका पहिलो हो। आईतवार भब्य समारोहका बीच ‘गर्भवती झण्डा’ वितरण समेत गरिएको छ। गाउँपालिका अर्न्तगत दरबार देविस्थान स्वास्थ्य चौकीद्वारा सञ्चालित बर्थिङ सेन्टरमा पायक पर्ने वडा नम्वर ५, ६ र ७ मा रहेका गर्भवती, महिला स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधी, राजनितिक दलका प्रतिनीधी र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा गर्भवती झण्डा वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोककुमार थापाले अभियान संगै अबदेखि प्रसुति गराउनका लागि बर्थिङ सेन्टर सम्म आउनका लागि एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराउने र गर्भवतीलाई ल्याब सेवामा लाग्दै आएको सेवा शुल्कलाइ ५० प्रतिशतमा झार्ने व्यवस्था गाउँपालिकाले मिलाउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.