गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाकाे अन्तिम विदाई

| 2021 Jul 16 | 08:00 pm 10197

गुल्मी, साउन १ः नेपाली काँग्रेस गुल्मीले गुल्मीदरबार गाउँपालिका अध्यक्ष तथा नेपाली काँंग्रेस गुल्मी क्षेत्र नं.–१ का क्षेत्रीय सभापति अशोक कुमार थापाको अन्तिम विदाई गरेको छ ।

काँग्रेसले बिहीबार उपचारको क्रममा काठमाडौंमा निधन भएका थापाको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलीसँगै विदाई गरेको हो । विगत चार महिनादेखि फोक्सोको रोगबाट पीडित थापाको ७४ वर्षको उमेरमा निधन भएको थियो ।

शुक्रबार जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तमघासमा ल्याई स्व. थापाको अन्तिम विदाई गरिएको नेपाली काँग्रेसले जनाएको छ । स्व. थापालाई नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, पूर्व सभापति सुरेशचन्द्र भुसाल, उपसभापति विष्णुप्रसाद बलाल, सचिवद्वय खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा लगायतका नेताहरूले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

श्रद्धाञ्जली सभामा बोल्दै सभापति श्रेष्ठले थापाको निधनले पार्टी सहित सिङ्गो जिल्लालाई अतुलनिय क्षति पुगेको बताए । स्व. थापाले प्रजातान्त्रिक आन्दोलन तथा सामाजिक क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको चर्चा गर्दै सभापति श्रेष्ठले थापाले देखाएको बाटोमा हिड्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै सचिव खिलध्वज पन्थीले पार्टीले एक असल र स्वच्छ छबि भएका व्यक्ति गुमाएको बताए । थापाको निधनले नेपाली काँग्रेसलाई अपुरणीय क्षति पुगेको उनको भनाई छ ।

अयोजित श्रद्धाञ्जली सभामा नेकपा एमालेका नेता कृष्ण सुनार, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पार्टी सचिव बीरबहादुर कार्की, जनता समाजवादी पार्टीका अध्यक्ष घनश्याम पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवन राना, गाउँपलिकाका अध्यक्ष तथा उपाध्यक्षहरु अन्य जनप्रतिनिधिहरु, पार्टीका भातृ तथा संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायत विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रमुख–प्रतिनिधिहरुले स्वर्गिय थापा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको शुक्रबार नै रिडीमा अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय थापाका एक श्रीमती र चार छोरा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.