गुर्जा हिमाल आरोहणमा बेपत्ता भएका मध्ये ८ जनाको शव फेला (नामसहित)

| 2018 Oct 13 | 02:14 pm 1829

म्याग्दी, असोज २७ : म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता भएका पर्यटकहरुमध्ये ८ जनाको शव भेटिएको छ । गुर्जा हिमालमा एक दशकपछि पहिलो पटक आरोहणका लागि गएको पर्वतारोहीहरूको टोली दुर्घटनामा परेको हो।

गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ८ जनाको शव देखिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले जानकारी दिए।

सात हजार १९३ मिटर उचाईको गूर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वको ५ जना कोरियन र ४ जना नेपाली सहितको टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेर शुक्रबार बेपत्ता भएको थियो ।

घटनास्थलबाट समप्रसाद छन्त्यालले दिएको जानकारी अनुसार कोरियालीको अनुहारबाट पहिचान गरिएपनि थप एकजना नेपालीको अवस्था अज्ञात छ। छन्त्यालका अनुसार केहीको शव टेन्टभित्र र केहीको शव टेन्ट बाहिर भेटिएको छ।

सिम्रक एयरको हेलिकप्टरबाट उनीहरुको शव ल्याउने काम भइरहेको छ। थप दुईवटा हेलिकप्टर घटनास्थल तर्फ जाने तयारीमा छन्। घटनास्थलमा गूर्जाबाट २५ जनाभन्दा धेरै स्थानीय खोजिकार्यमा खटिएका छन्।

हिमपहिरोमा परी मृत्यु हुनेमा गूर्जाका २९ वर्षीय नेत्र बहादुर छन्त्याल छन् भने अन्यको पहिचान खुल्न सकेको छैन।

२०६५ सालमा चुरेन हिमाल आरोहण भएपछि त्यसयता पहिलोपटक यो टोली हिमाल आरोहणका लागि आएको थियो। एक दशकपछि हिमाल आरोही लागि आएको पहिलो टोली नै हावाहुरीले दुर्घटनामा परेकाे छ। यसैसाता मात्रै गूर्जा हिमाल र गूर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ प्रस्थान गरेका छन्।

गूर्जा गाउँबाट करिव ५ घण्टाको दूरीमा रहेको आधार शिविरमा पुग्न नसकेर एक कोरियाली सहित ३ जनाको टोली भने बाटो बाटै फर्किएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.