काठमाडौं, पुस २४ः गुण्डागर्दीमा संलग्न रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका ग्रीनल्याण्ड बस्ने ३१ वर्षीय देवेन्द्र कुमार घर्ती मगर र घादिङ निलकण्ठ नगरपालिका ५ घर भई हाल काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेल रहेका छन् ।
उनीहरुले काठमाडौंका विभिन्न स्थानमा हातहतियार देखाउने तथा धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।
महाशाखाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई खोजतलास गर्दै जाँदा बुधबार राति करिब नौ बजेको समयमा काठमाडौंको ठमेलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनाको अनुसन्धान भई रहेको छ ।
अनुसन्धानबाट २०६४ सालमा रमेश बाहुन, कमल राना, छिरिङ, शेर्पा, अनिल लामा, बुद्ध गुरुङ र देवेन्द्र कुमार घर्ती मगर भई बरुण लामा र आशिष गुरुङ समेतलाई गोली हानी घाइते बानाई ज्यान मार्ने उद्योगमा ४ वर्ष जेल सजाय भोगेको खुल्न आएको छ ।
त्यसैगरी २०७१ सालमा सुजन पौडेल लगायत गोविन्द घिमिरे, बिनोद श्रेष्ठ, कमल गुरुङ, अमृत अधिकारी मिलेर राधेको केटा भन्ने काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएकोमा २०७३ सालमा ज्यान मार्ने उद्योगमा धादिङमा ७ महिना र नुवाकोटमा ४ महिना सजाय भोगिसकेको बुझिएको छ ।