काठमाडौं, असार ६ : भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिइकी छन् । प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै मन्त्री अर्यालले हिजो मन्त्रिपरिषदले निर्णय गरेर फिर्ता लिने प्रक्रिया शुरु गरिसकेको बताएकी हुन् ।
‘सरकारले हिजो मात्रै निर्णय गरेर राष्ट्रियसभाका निम्ति प्रक्रिया अगाडि बढिसकेको छ’, उनले भनिन् । गुठी जग्गाका किसानको हक स्थापित गर्ने र धार्मिक मूल्य, मान्यता र परम्परा कायम राख्ने, यसमा देखिएका विसंगति अन्त्य गर्ने गरी सरकार अघि बढे पनि अहिलेका लागि उक्त प्रक्रिया स्थगित गर्नुपर्ने अवस्था आएको मन्त्री अर्यालले बताइन् ।
सांसदहरुले भने गुठी विधेयक पत्रकार सम्मेलनबाट मात्र नभई संसदबाट नै फिर्ता हुनुपर्ने माग राखेका थिए ।