‘गिरफ्तार’ शैलीमा काठमाडौं ल्याइएका डा केसीले उपचार लिन मानेन्

| 2018 Jul 20 | 10:25 am 1648

काठमाडौं, साउन ४: चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा गोविन्द केसीले काठमाडौंमा समेत सरकारी उपचार लिन अस्वीकार गरेका छन् ।

२० दिनसम्म जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. केसीलाई सरकारले बिहीबार गिरफ्तार शैलीमा काठमाडौं ल्याएको थियो। त्रिवि शिक्षण अस्पतालमा आफ्नो १५ औँ सत्याग्रह जारी राखेका डा. केसीले सामान्य स्लाइन बाहेक कुनै पनि औषधी प्रयोग नगर्ने अडान लिएका छन्।

सरकारले उपचारकै लागि काठमाण्डौं ल्याउन जुम्लामा गरेको ज्यादती नागरिक स्वतन्त्रता विरोधी भएको भन्दै कुनै पनि किसिमको औषधी-उपचार र स्वास्थ्य जाँचसमेत नगर्ने अडान केसीले लिएका हुन्। विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेसम्म अनसन नछाड्ने डा. केसीको अडान छ। डा केसीलाई काठमाडौं ल्याउन खोज्दा जुम्लामा झडप समेत भएको थियो।

झडपमा प्रहरी जवानको मृत्यु भएको, अस्पतालमै फायरिङ सुरु गर्न लागेको र आगलागी समेत गर्न लागिएको अफवाह फैलाई डा केसीलाई काठमाडौं आउन बाध्य बनाइएको डा केसीका समर्थकहरुले आरोप लगाएका छन्।

काठमाण्डौं ल्याएलगत्तै डा केसीले विज्ञप्ति जारी गरी अनसनमा भएको प्रहरी हस्तक्षेपको भत्र्सना गरेका छन्। सरकारले अस्पताललाई युद्धभूमि जस्तो बनाई अमानवीय रूपमा सत्याग्रहीको इच्छा विपरीत अपहरण शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाउँदै उहाँले ज्यादतीमा संलग्नलाई कारबाहीको माग समेत गरेका छन्।

काठमाडौंमा मात्र वार्ता हुने अडानमा रहेको सरकारले डा केसी काठमाडौं आएपनि आज औपचारिक वार्ताको सुरसार भने गरेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.