गाउँमा आतंक मच्चाउने नरभंक्षी चितुवा खाेरमा फस्याे

| 2020 Apr 03 | 10:59 am 1911

बैतडी, चैत २१ः जिल्लाको मैलौली नगरपालिका- ९ असुरमा एउटा चितुवा खोरमा परेको छ । बिहीबार राति नरभंक्षी चितुवा काठको खोरमा परेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएकाे हाे ।

सोही स्थानमा गत फागुन २७ गते एक बालिकालाई आक्रमण गरी मारेको थियो । तल्लोसोराड क्षेत्रको गाउँ-बस्तीमा पसेर मानवीय क्षति पुर्याउँदै आएको नरभंक्षी चितुवा खोरमा फसेको बताइएकाे छ ।

मेलौली नगरपालिका वडा नं ९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञहरुद्धारा गत चैत १ गते वडा ९ को असुरमा निर्माण गरिएको काठको खोरमा चितुवा फसेको जनाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राखेका थिए ।

खोरमा चितुवा फसाउन बाख्राको पाठी राखिएको थियो । बिहीबार राती काठको खोरमा बाख्राको पाठी राखेको र पाठी खान जाँदा चितुवा फसेको जनाइएकाे छ । नरभक्षी चितुवा खोरमा फसेको विषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराइसकेको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर पठाइने बताए ।

नरभक्षी चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिइसकेको छ । नरभक्षी चितुवाले गएको फागुन २७ गते ओछ्यानबाटै मेलौली ९ असुरकी ८ वर्षीय सीता लुहारको ज्यान लिएपछि जिल्ला प्रशासन र बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले प्रभावित क्षेत्रमा तत्काल विज्ञ टोली पठाउन वनमन्त्रीसंग आग्रह गरेका थिए । साेपछि विज्ञ टोलीको सहयोगमा खोर राखिएका थिए । चितुवा खोरमा फसेपछि स्थानीय नागरिकहरु खुसी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.