मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण

रिपोर्ट नेपाल | 2019 Jan 22 | 12:25 pm 1667

म्याग्दी, माघ ८: भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ ।

गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए । निस्कोट, रुम, देवीस्थान र बिमको डाँडागाउँमा स्वास्थ्यचौकीको भवन नजिकै हेलिप्याड बनाइएको छ ।

यसैगरी डाँडागाउँमा वडा कार्यालय परिसर, ओखरबोटको ओखरबोट मावि परिसर र दरवाङको छ्यारछ्यारेमा हेलिप्याड निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलको गलेश्वर बेसक्याम्प, नेपाल प्रहरी, जनप्रतिनिधि, युवा क्लब र आमा समूहका प्रतिनिधिले ढलान गरेर ‘एच’ आकारसहितको हेलिप्याड बनाएका हुन । हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राविधिक सहयोग गरेको छ ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.