गाउँका ‘डाक्टर’को गर्व

| 2023 Mar 20 | 07:33 am 1133

सिरहा, चैत ६ः लक्ष्मीपुरपतारी गाउँपालिका–६, सीतापुर निवासी शिबु साह घरघरमा उपचार गरेर भएको कमाइबाट चारै छोरालाई डाक्टर बनाउन सफल भएका छन्।

शिबुले अनुभवबाट उपचार गर्न सुरु गरेकाे थियो। गरिब दलित बस्तीमा उपचारका लागि निकै प्रख्यात भएकाले उनलाई बिरामीले दिएको पदवी नै शिबु डाक्टर हो। तर वास्तवमा उनी चिकित्सक हाेइनन्। अहिले पनि विपन्न दलित बस्तीमा कोही बिरामी पर्दा शिबुकहाँ नै आउने गरेका छन्। २०३६ सालमा एसएलसी उत्तीर्ण गरेर भारत विहारको दरभङ्गामा न्युरोलोजिस्ट डाक्टर सीताराम सिंहको क्लिनिकमा पाँच वर्ष कम्पाउन्डरको काम गरेका शिबु साह आफ्नै गाउँ फर्केर ज्वरो, दम झाडापखालालगायत सीतापुरवरिपरिका गाउँमा सामान्य बिरामीको उपचार गर्न थालेका थिए।

चार दशकसम्म निरन्तर सामान्य उपचार गर्दै भएको आम्दानीबाट चार छोरामध्ये दुई छोरालाई एमबीबीएस, एकलाई एचए र एकलाई अहेब पढाएर लहानमा दुई क्लिनिक र सीतापुरमा एक क्लिनिक सञ्चालन गरेका छन् शिबुले। उनले केही दशकअगाडि धामीझाँक्रीकहाँ गएर उपचार गराउने अन्धविश्वास हटाउन आफूले ठूलो भूमिका खेलेको बताए।

“भारतको लौकहा दलनियाँ जयनगरबाट औषधि ल्याएर रातिराति साइकलमा चढेर घरघर पुगेर उपचार गर्थें। आफूबाट उपचार हुन नसकेका बिरामीलाई लहानस्थित अस्पताल पु-याउँथेँ,” उनी भन्छन्, “मेरो उपचार सेवा देखेर छारापटी हेल्थपोस्टले स्वयंसेवकमा राखेर उपचारका लागि थप तालिम पनि दिएको थियो।”

“भारतको पटनाबाट रजिस्ट्रेसन मेडिकल प्राक्टिसनर प्रमाणपत्र हासिल गरेर उपचार गर्न थाल्दा सलोखरी गाउँमा झाडापखाला रोगले महामारीको रूप लिएका बेला एक्लै सिङ्गै गाउँमा उपचार गरेर निको गरेपछि झन् विश्वसनीयता पनि बढ्यो, कमाइ पनि बढ्यो,” साहले सुनाए, “त्यति बेला थर्मोमिटर, रक्तचाप जाँच्ने मेसिन पनि हुँदैनथ्यो। नाडी छामेर नै औषधि चलाउँदा निको हुन्थ्यो। ३०–३५ रुपियाँमा औषधि उपचार गर्दा बिरामी निको हुन्थे। मलाई सम्झेर अहिले पनि बिरामी आइरहेका छन्।”

“अहिले छोराहरू चिकित्सक भएपछि मैले नबुझेको नयाँ प्रविधि र उपचार छोरासँग सिक्छु, छोराहरूले पनि औषधि चलाउने ज्ञान मसँग सिकिरहेका छन्,” शिबु भन्छन्, “यति बेला मेरो घर नै अस्पतालजस्तै भएको छ।”

घरघरमा पुगेर गरेको उपचारका कारण दलित विपन्न समुदायले आफ्नो दुई बिघा खेत एकैदिनमा रोपाइँ गरिदिन सहयोग गर्दै आइरहेको उनी सुनाउछन्। लहान–१ का किसुन सदायलाई आफ्नै खर्चबाट एचए (हेल्थ असिस्टेन्ट) पढाइरहेको भन्दै उनले सामान्य कम्पाउन्डर अनुभवको उपचारले आफूलाई गरिब विपन्न दलितबाट डाक्टरको उपाधि पाउनु र चारै छोरालाई चिकित्सक बनाउन सफल हुँदा जीवन नै सफल भएको गर्व महसुस भइरहेको खुसी व्यक्त गरे। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.