गाँजा कारोबारमा फरार दुई अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 17 | 10:02 am 1529

गौशाला, असोज ३१: लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

पक्राउ परेका साह विसं २०५७ कात्तिक ४ गतेका दिन आफ्नै घरमा १०१ किलो प्रतिबन्धित लागुऔषध गाँजा राखी बिक्री वितरण गर्न लागेको अवस्थामा प्रहरीले उक्त गाँजा सुराकीको आधारमा छापा मारी नियन्त्रणमा लिएको थियो भने कारोबारी साह घरबाट भाग्न सफल भएका थिए ।

त्यस्तै अर्का कारोबारी यादव विसं २०६० असार २१ गतेका दिन ज१त ३२२ नं को ट्याक्टरमा बालुवा लोड गरी बालुवाभित्र २०० किलो प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गर्न लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा जानकारी पाएपछि जलेश्वर–सम्सी सडकखण्डमा आरोपीले प्रहरीलाई देखेर ट्याक्टर छाडी भागेका थिए ।

क्रमशः १८ वर्ष र १५ वर्षदेखि लागुऔषध गाँजा कारोबार मुद्दामा फरार दुवै अभियुक्त दशैँ मेला मान्नका लागि लुकीछिपी गाउँघरमा आएको जानकारी पाएपछि प्रहरीले दुवैलाई घरैबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.