काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि बुधबार दिउँसो पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए। आजै ५ बजे शपथ ग्रहण हुने उनले जानकारी दिए।
यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मतलाई जेठ १४ मा सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले संविधानको धाार १६८ उपधारा ४ अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।