काठमाडाैं, जेठ १५ः गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूलगायतले देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै कुनै एक वंश विशेषमा ज्येष्ठताका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता रहेको बताएका छन् ।
शुभकामना सन्देशमा उनले यो व्यवस्थाले त्यही अनुकूलको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सिए अग्रजको लामो सङ्घर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने उल्लेख गरेका छन् । गणतन्त्रका लागि भएका विभिन्न आन्दोलनका क्रममा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको उहाँले औँल्याएका छन् ।
सन्देशमा उल्लेख छ, “विपन्न, निमुखा र मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार हुन् । उनीहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी हाम्रा नीति तथा योजना त्यसैमा केन्द्रित होऊन् भन्ने म चाहन्छु ।”
“लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावापानी र माटो सुहाउँदो होइन, जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै पाइन्छ,” सन्देशमा उल्लेख छ ।
सन्देशमा उनले भनेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै एक मात्र त्यस्तो व्यवस्था हो जसले जनताको घरआँगनमा सेवासुविधा र विकास पुर्याउन सर्वोत्कृष्ट माध्यमको काम गर्दछ तर अहिलेको देशको परिस्थितिले यस्तो हो भनेर प्रमाणित गर्नुपर्ने मुख्य चुनौती हाम्रासामु छ ।”
यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै गणतन्त्र दिवसलाई देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको शान्ति र विकासका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
शुभकामना सन्देशमा उल्लेख छ, “हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ । पूर्व पश्चिम, मधेश, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ ।”
गणतन्त्र दिवस मनाइरहँदा इतिहासको गौरवलाई शिरोपर गरी वर्तमानको समीक्षामार्फत नवीन र समुन्नत भविष्यको यात्रा गर्ने दृढ सङ्कल्प गर्नुपर्ने उल्लेख गर्दै उनले मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै समृद्धिको मार्गमा अग्रसर हुन सबैसँग आग्रह गरेका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले सरकार र सबै पक्षको ध्यान गणतान्त्रिक व्यवस्थाका अभीष्ट पूरा गर्नतिर केन्द्रित हुँदै गएको चर्चा गरेका छन्। सन्देशमा प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्, “नागरिकका हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक, सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको छ।”
नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको प्रधानमन्त्रीले बताएका छन्।
“यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा म जोड दिन चाहन्छु,” उनले भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुन सके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जग थप मजबुत बन्नेमा विश्वास व्यक्त गरे।
“संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधारहरू हुन्,” सन्देशमा उल्लेख गरिएको छ।
प्रधानमन्त्रीले गणतन्त्र दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै बेपत्ता तथा घाइते अपाङ्ग योद्धासहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गरिएको छ।
यस्तै सभामुख देवराज घिमिरेले आन्दोलनले व्यवस्था परिवर्तन गरे पनि नागरिकको अवस्थामा खासै परिवर्तन नभएकोमा चिन्ता व्यक्त गरेका छन् । गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै घिमिरेले सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न अझै आवश्यक भएको बताएका छन् । नागरिकका विकास र समृद्धिका चाहनालाई सहजता प्रदान गर्न आवश्यक रहेको पनि शुभकामना सन्देशमा भनेका छन् । गणतन्त्रले ल्याएको परिवर्तनलाई नागरिकको जीवन पद्धतिमा जोड्नुपर्नेमा उनले जोड दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको शुभकामना दिँदै संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् ।
जनताको त्याग र बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै उहाँले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने आफूले विश्वास लिएको उल्लेख गरेका छन्।
यसैबिच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको शुभकामना दिदै गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिसमेत रहेको बताएका छन् । उनले सन्देशमा भनेका छन्, “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ, जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्ग, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायका बिचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस् ।” लोकतान्त्रिक गणतन्त्रको यस सुन्दर प्रणालीलाई मजबुत बनाएर हामीले गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नुपर्ने बताउँदै उनले यसका लागि अग्रसर हुन सबैलाई आह्वान गरेका छन् ।