गठबन्धनको पक्षमा उभिँदै डोटीमा समानुपातिकमा कांग्रेसलाई अत्यधिक मतदान गरौंः नेता विष्ट

| 2022 Nov 10 | 12:29 pm 1105

डोटी, कात्तिक २४ः नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टले मंसिर ४ को निर्वाचनमा डोटीमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।

केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारी प्रदान गर्दै पार्टीले डोटी खटाएका विष्टले शिखर नगरपालिकाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका पक्षमा जनाधार सिर्जना गर्न आग्रह गरेका हुन्।

‘म पनि डोटीबाट प्रत्यक्ष निर्वाचनमा बलियो आकांक्षी थिए। कांग्रेसबाट प्रधानमन्त्री ज्युले पनि मलाई डोटीबाट उठाउन चाहनु भएको थियो। गठबन्धनकै कारण कांग्रेस नेतृत्वमा सरकार बन्यो। र, मुलुक स्थिरतातर्फ गयो। यस्तो अवस्थामा डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेको हो। त्यसैले हामीले पार्टीको निर्देशनलाई स्विकार्नुपर्छ,’ उनले भने। नेता विष्टले समानुपातिकमा कांग्रेसलाई अत्यधिक मतदान गर्न अपिल गरेका छन्।

‘डोटीका नौ पालिका मध्ये सातमा प्रमुख र आठमा उपप्रमुख हामीले जितेका छौं। प्रत्यक्षमा कांग्रेसबाट उम्मेदवार नभए पनि समानुपातिकमा कांग्रेसको पक्षमा अत्यधिक मतदान गर्नु होला। संविधान कार्यान्वयन, विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उनले बताए।

‘फेरि पनि गठबन्धनकै सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेसले गर्ने छ। एमाले अध्यक्ष केपी शर्मा ओली जीलाई दुई तिहाइको सरकारको नेतृत्व गर्ने अवसर दिँदासमेत उहाँले केही गर्न सक्नु भएन। झनै उहाँबाट संसद् र संविधानमाथि प्रहार हुने काम भयो। आफ्नै पार्टीलाई पनि टुक्राटुक्रा पार्नुभयो,’ विष्ट भन्छन्। त्यसैले यो अग्रगमनका पक्षमा उभिने बेला भएकाले वाम लोकतान्त्रिक सत्ता गठबन्धनलाई मतदान गर्न उनको आग्रह छ।

डोटी जिल्लाको प्रतिनिधि सभातर्फ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले पार्टीलाई प्रत्यक्षतर्फ मतदान गर्ने अवस्था नरहेकाले समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि प्रेरित गर्न भन्दै विष्टलाई विशेष जिम्मेवारी दिएर प्रधानमन्त्री देउवाले डोटी खटाएका छन्।

‘तपाईं आफू खटिएको क्षेत्रमा निरन्तर उपस्थित रही समानुपातिक उम्मेदवारका पक्षमा अधिकतम मत खसाल्ने वातावरण बनाउन सम्बन्धित क्षेत्रको पार्टीका सबै तहका साथीहरूबीच सद्भाव, सौहार्दता एवं हार्दिकता कायम गर्दै निर्वाचन परिचालन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ सभापति देउवाले प्रदान गरेको पत्रमा भनिएको छ। विष्टलाई जिल्लामा रहेका पार्टीका सबै संगठनलाई परिचालन गरी आवश्यक सहयोग लिन पार्टीको निर्देशन रहेको छ।

उता डोटी कांग्रेसले पनि विष्टको अभियानलाई साथ दिन भन्दै सबै पालिका र संगठनलाई परिपत्र गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.