एक जना अनशन बस्दा देशै ठप्प हुने, बिधि र कानूनले कामै नगर्ने ?

| 2019 Jan 18 | 02:51 pm 3384

काठमाडौं,माघ ४  : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वाेपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राखेका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संसद्को सर्वाेच्चता र संसदीय विधि निर्माणप्रति आफू नतमस्तक रहेको धारणा व्यक्त गरे ।

नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले संसदीय प्रक्रिया अपनाएर केसीसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारको तयारी के भ भनि गरेको प्रश्नको जवाफमा उल्टै प्रतिप्रश्न गर्दै भने, ‘‘एक जना अनसन बसेपछि देशै ठप्प हुने ?, विधि, कानून, राष्ट्रिय आवश्यकताले कामै नगर्ने ? अनसन लोकतन्त्रमा सर्वोपरी हुने हुँदैन ।’

ओलीले अनसनरत डा. गोविन्द केसीमा मागहरुप्रति सरकार अहिले पनि प्रतिवद्ध रहेको बताए । “आफूले गरेको सहमतिप्रति सरकार प्रतिबद्ध छ, संसद्को सर्वाेच्चताको सम्मान गर्दछ, सरकारले सदनलाई आदेश दिन मिल्दैन ।” प्रधानमन्त्री ओलीले भने, “डा केसीको अनशन संसद् र संसदीय सर्वाेच्चतासँग जोडिएको प्रश्न हो, संसद्ले कानून निर्माण, सरकार गठन र परिवर्तन गर्न सक्छ, सम्पूर्ण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलो संसदीय सर्वाेच्चताप्रति सरकार थिचोमिचो गर्दैन ।”

सम्झौता भनेको सत्यनिरुपण होइन, तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गरिएको सम्झौता मात्रै हो, तर सरकार सझौताप्रति प्रतिबद्ध छ । संसद्लाई यसो गर भनेर आदेश दिन सरकारले सक्दैन भन्दै उनले भने, “हरेकले आफ्ना सीमा, कानूनी राज्य र कानून पालनाको कुरालाई मान्नुपर्छ, हामी सबै संविधान, कानून र विधिको प्रक्रिया भित्र छौँ । प्रणाली र प्रक्रियाभन्दा बाहिर गएर आफूलाई ‘सुप्रिम’ छु भनेर भन्न कसैले मिल्दैन ।”

प्रधानमन्त्री ओलीले नेकपाका सांसद प्रभु साहको जिज्ञासाको जवाफ दिँदै बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपद्का समस्यामा परेका जनताका आवास निर्माण र राहत उपलब्ध गराउने विषयमा सरकारले प्राथमिकीकरण गरेर काम गर्ने बताए ।

उनले भने, “यो सरकार जनता र मुलुकका लागि हो, समस्यामा परेका जनतालाई यो सरकारले हेर्छ र काम गर्छ । राहत र आवास निर्माणमा बालबालिका, सुत्केरी, विपन्नलाई प्राथमिकता दिनुपर्छ । जनता आवास कार्यक्रम अघि बढाउने सन्दर्भमा प्राकृतिक विपत्तिमा भएको क्षतिको स्थानमा आवास बनाउन ध्यान दिइनेछ ।”

प्रधानमन्त्री ओलीले नेपाली काङ्ग्रेका सांसद दीलेन्द्रप्रसाद बडुको प्रश्नको जवाफमा स्वीस बैंकमा नेपाली नागरिकको पैसा रहेको भन्ने विषय कानूनको अवज्ञा र भ्रष्टाचारसँग जोडिएको विषय भएको बताए । उनले भने, “सार्वजनिक सञ्चारमाध्यमबाट आएका विषयलाई सरकारले गम्भीररुपमा लिएर अनुसन्धान गर्नेछ ।”

नेकपाका सांसद रेखा शर्माको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन सरकारले सक्रिय र सजगतापूर्वक काम गरिरहेको बताए ।

उनले भने, “द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने क्रममा हतियार र लडाकुको व्यवस्थापन शान्तिपूर्ण तवरले सम्पन्न भई निर्वाचनका माध्यमबाट संविधान कार्यान्वयका लागि संवैधानिक बाटोबाट अघि बढेका छौँ, सहमतिका आधारमा द्वन्द्वका घाउ र खतमा मलमपट्टी लगाउनेतर्फ हाम्रा साझा कार्यक्रम अघि बढेका छन् ।”

अहिले द्वन्द्वको स्थानमा शान्ति स्थापना भएको भन्दै प्रधानमन्त्री ओलीले द्वन्द्वका बाँकी घाउलाई सम्बोधन गरिनेछ उनले बताए । प्रधानमन्त्री ओलीले भने,  “ सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानविन आयोग सम्बन्धी विषय नयाँ कानून ल्याएर होस् वा अरु कुनै बाटोबाट अघि बढ्ने विषयमा सरोकारवाला पक्षसँग छलफल भइरहेको छ, मानवताविरुद्धका जघन्य अपराधमा संलग्न दोषीलाई कारवाही गर्ने व्यवस्था गरिनेछ,” ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.