खोल्साको बिजुली बेचेर मासिक एक लाख आम्दानी

| 2018 Nov 01 | 07:16 am 2975

बेत्रावती, कार्तिक १५ – लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएका विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै खोला र खोल्सीबाट बगेका पानीले पनि मनग्य आम्दानी दिन थालेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा समुदायको लगानीमा स्थापना गरेको स्याउरेभूमे लघु जलविद्युत् आयोजना विसं २०६० देखि निरन्तर दश वर्ष जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाका लागि उज्यालो दिने एक मात्र सहारा बनेको थियो तर जब विसं २०७० मा केन्द्रीय प्रसारण लाइन गाउँबस्तीसम्म पुग्यो अनि स्याउरेभूमे जस्तै ससाना लगानीमा बनेका आयोजना धमाधम बन्द भए।

‘सरकारले लघु जलविद्युत् आयोजना टिकाउन कुनै विकल्प दिएन, समुदायले पनि केन्द्रीय लाइन पाएपछि ती आयोजनालाई उपेक्षा गर्न थालेकाले आयोजनामा गरिएको करीब दुई करोड लगानी डुब्ने अवस्थामा पुग्यो ‘, स्याउरेभूमे लघु जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्ष सुदर्शन बुढाथोकीले पीडा सुनाए।

उनले भने, ‘सरकारी अनुदानसहित समुदायको लगानीमा सञ्चालित आयोजनाले पुनर्जीवनको सम्भावना त्यतिबेला पायो जतिबेला नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठकले २०७१ साउन ४ गते १०० किलोवाट क्षमतासम्मका विद्युत् खरीद गर्ने कानूनी व्यवस्था संशोधन गर्दै न्यूनतम २० किलोवाटसम्म उत्पादन गर्ने विद्युत्समेत खरीद गर्ने निर्णयबाट बन्द भएको स्याउरेभूमे लघुजलविद्युत् आयोजना चलाउन सबैभन्दा सहज वातावरण शुरु भयो ।’

केन्द्रीय प्रसारणलाइन विस्तारको प्रभावले बन्द भएको आयोजना सञ्चालनको तयारीमा रहँदै गर्दा फेरि अर्को बज्रपात भूकम्पले पुर्‍यायो । अधिकांश संरचनामा क्षति पुगे । विभिन्न प्रयास र सहजीकरणको प्रयासमा नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले सयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको साझेदारीमा ३५ लाख सहयोग पाएपछि समुदायकै लगानीमा क्षतिग्रस्त आयोजना २०७४ पुस २७ मा सञ्चालनमा आयो । साविक २३ किलोवाट क्षमताको उक्तआयोजनाले २७ किलोवाटसम्म विद्युत् उत्पादन गर्न सक्षम भयो ।

“पुनर्जीवनसँगै यहाँबाट उत्पादन भएको विद्युत् सोही दिनदेखि नै सिधै केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि आयोजनाले पैसा कमाउन थाल्यो”, बुढाथोकीले भने। २०७२ फागुन १६ गते प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरी उत्पादन भएको विद्युत् सुक्खायामका चार महीना (पुस, माघ, फागुन र चैत) मा प्रतियुनिट ८.४० पैसा र बाँकी समय बर्खायाममा प्रतियुनिट चार ४.८० पैसामा खरीद गर्ने हस्ताक्षर भयो ।

“लघु जलविद्युत् आयोजनासँग विद्युत् किन्ने प्राधिकरणको यो पहिलो ऐतिहासिक निर्णय हो”, बुढाथोकीले भने, “यही निर्णयको आधारमा स्याउरेभूमेले उत्पादन गरेको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको नेपालमा नै पहिलो लघु जलविद्युत् आयोजना बन्यो, र लघु जलविद्युत्मा नयाँ आयाम शुरु भयो ।”

पुनःसञ्चालन भएपछि निरन्तर चल्दै आएको सो आयोजनाबाट अहिलेसम्म निरन्तर साविकभन्दा बढी क्षमताको विद्युत् उत्पादन गरी राज्यलाई आवश्यक बिजुली बिक्री गर्दैआएको छ । आयोजनाबाट हिउँदयाममा मासिक दुई लाखसम्म र बर्खायाममा रु ८० हजारको हाराहारीमा कमाइरहेको छ । यहाँबाट उत्पादन भएको बिजुलीलाई प्राधिकरणले सिधै खरीद गरेपछि बजारको सहजता भएसँगै लगानी डुबेको समुदाय त्यो ऋण चुक्ता गरी कमाउन सक्ने हैसियतमा पुगेका छन् ।

यहाँको सिक्रे खोलामा बाँध बनाएर कुलोबाट ल्याएको पानीबाट विद्युत् उत्पादन गरी मासिक सरदर एक लाख कमाउँदै आएको छ । स–साना खोलाखोल्सीमा उत्पादन भएको पानी समुदायले नै थोरै लगानी गरी निरन्तर राम्रो कमाइ गर्नसक्ने हैसियत लघु जलविद्युत्ले बनाउने उदाहरणले यहाँ सञ्चालित एवं बन्द भएका अन्य एक दर्जनभन्दा बढी आयोजना पनि केन्द्रीय प्रसारणलाइनमा जोडिन लागिरहेको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए।

साविकको जिविस हुँदा वैकल्पिक ऊर्जासम्बन्धी शाखा रहेको र त्यहाँबाट सहयोग पुग्ने कार्यक्रम थियो”,उनले भने, “अहिले सरकारी सहयोगको अभावले बन्न सकेका नसके पनि त्यसलाई स्थानीय सरकारसँग समन्वय गर्न पहल गराउन प्रयास गरिरहेका छौँ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.