खोपलाई तीव्रता र विस्तार गर्न डब्ल्यूएचओको अपिल

रिपोर्ट नेपाल | 2021 Sep 09 | 08:36 am 2137

काठमाडौं, भदाै २४ः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दक्षिणपूर्वी एसियाका देशहरूलाई कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिनुका साथै नियमित खोप कार्यक्रमलाई विस्तार गर्न अपिल गरेको छ ।

नेपालले आयोजना गरेको डब्ल्यूएचओको दक्षिण पूर्वीएसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले महामारीका कारणले नियमित खोप तथा निगरानी प्रक्रिया अवरुद्ध भएको बताइन् । उनले महामारीको शुरुआती दिनमा खोप कार्यक्रममा उल्लेखनीय प्रगति रहेको स्मरण गर्दै भनिन्– ‘दक्षिणपूर्वी एसियामा डीटीपी–३ खोपको प्रयोग ९१ प्रतिशत पुगिसकेकोमा महामारीका कारण अहिले ८५ प्रतिशतमा झरेको छ ।’

उनले सन् २०१९ मा यो क्षेत्रमा खोप नै नलगाएका वा पूर्णरूपमा खोप नलगाएका बालबालिकाको संख्या ३० लाख रहेकोमा हाल सो संख्या बढेर ४९ लाख पुगेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताका रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलन रणनीतिको कार्यान्वयनमा पनि असर परेको बताइन् । डा. सिंहले भनिन्– ‘कोभिड–१९ ले पुर्‍याएको क्षतिलाई तुरुन्त क्षतिपूर्ति गर्नुपर्ने, विगतका दशकमा हासिल भएको प्रगतिको दरलाई पुनः प्राप्त गर्नुपर्ने, र शिशु, बालबालिका तथा वयश्कहरूलाई जीवन रक्षक खोपद्वारा संरक्षण दिनुपर्ने आवश्यकता तड्कारो छ ।’

डब्ल्यूएचओका अनुसार दक्षिणपूर्वी एसियामा सन् २०१९ मा दादुराविरुद्धको खोपको पहिलो मात्राको अनुमानित प्रयोग ९४ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ८८ प्रतिशतमा झरेको छ । त्यसै गरी, दादुराविरुद्धको खोपको दोस्रो मात्राको प्रयोग पनि सन् २०१९ मा ८३ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ७८ प्रतिशतमा झरेको डब्ल्यूएचओले जनाएको छ ।

जारी क्षेत्रीय समितिको बैठकले क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगको निगरानीको पुनःस्थापनामा केन्द्रित रहेको छ ।

कोभिड–१९ विरुद्धको खोपसम्बन्धी प्रयासलाई असर नपारी नियमित खोप कार्यक्रमलाई कायम राख्न तथा अभिवृद्धि गर्नका लागि हामीसँग भएको रणनीति सुनिश्चित गर्नुपर्ने डा. सिंहले बताइन् ।

नियमित खोप कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि पर्याप्त जनशक्ति, खोप सेवामा पहुँच स्थापित गर्नका लागि मानिसमा आत्मविश्वास अभिवृद्धि गराउने प्रयास र बन्दाबन्दीको अवधि सकिनासाथ तुरुन्त खोपसम्बन्धी क्रियाकलापलाई विस्तार गर्न मानक सञ्चालन कार्यविधि सुनिश्चित गर्नु आवश्यक रहेकोमा उनले जोड दिइन्।

एसिया प्रशान्त क्षेत्रका देशले कोभिड–१९ विरुद्धको खोप विस्तार गर्नका लागि प्रयासहरू गरिरहेका छन् र हालसम्म यस क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.