खुल्यो पानीजहाज कार्यालय, १६ जना कर्मचारी रहने

| 2019 Feb 14 | 02:44 pm 1734

काठमाडौं, फागुन २ :  सरकारले आज पानीजहाज सञ्चालनका लागि औपचारिक रुपमा कार्यालय स्थपाना गरेको छ । ललितपुरको एकान्तकुनामा रहने पानीजहाज कार्यालयको प्रधानमन्त्री ओलीले उद्घाटन   गरेका हुन् ।

सरकारले कार्यालयका लागि कर्मचारी दरबन्दी समेत स्वीकृत गरिसकेको छ । कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक-एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.