चितवन जेठ २३: विगत लामो समय देखि दिउँसो ६ घण्टा बन्द हुने नारायणगढ मुग्लिन सडक आज बुधबारबाट चौबिसै घण्टा खुला हुने भएको छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार माघ १३ गतेदेखि बिहान १० बजेबाट ४ बजेसम्म बन्द हुने गरेको सडक आजबाट खुला हुने भएको छ ।
सडक निर्माणको काम झण्डै ९१ प्रतिशत पुरा भएको बताइएको छ । पहाड काट्ने कामका लागि दिउँसो यातायात बन्द हुन्थ्यो पहाड काट्ने काम सकिएर अब कालोपत्रे गर्ने काम लगभग अन्तिम चरणमा पुगेको सूचना अधिकारी खनालले बताएका छन् । विस्तारको काम भइरहेको सडकमा पहिलो तहको कालोपत्रे गर्ने काम पूर्ण रुपमा पुरा भएको पनि खनालले रिपोर्ट नेपाललार्इ बताएका छन्।
३६ किलो मिटर लामो नारायणगढ मुग्लिन सडकको ३३ किलो मिटरलाई एसियाली मापदण्ड अनुरुप दुई लेनको बनाइदै छ । सडकलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो । पहिलो तहको कालोपत्रे सवै सडकमा पुरा हुँदा दोस्रो तहको कालोपत्रे लगभग ३२ किलो मिटरमा भएको छ । अन्तिम अर्थात तेस्रो तहको कालोपत्रे लगभग १३ किलो मिटरमा मात्रै भएको सूचना अधिकारी शिव खनालले बताएका छन् ।