काठमाडौँ १३ जेठ / काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय विज्ञान घर्तीमगर छन्।
घर्तीमगरले फेसबुक, टेलिग्राम, लगायत एपमार्फत विभिन्न व्यक्तिहरूलाई साथी बनाएर क्रिप्टोमा लगानी गरे दोब्बर आम्दानी गर्न सकिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ।
घर्तीमगरले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता तथा वालेटमा पटकपटक गरी दुई लाख १६ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। उक्त जाहेरीपछि प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।