काठमाडौं, फागुन १८: क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न दुबई पुगेका छन्।
सोमबार सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले दुबई पठाएको हो। क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वीकृतीमा सन्दीपलाई दुबई पठाएको हो।
सन्दीपले नेपाली टोलीका स्पिनर मौसम ढकाल ठाउँमा खेल्नेछन्। मौसम अभ्यासका क्रममा घाइते भएपछि क्यानले सन्दीपलाई दुबई पठाएको हो। मौसम मंगलबार अभ्यासका क्रममा घाइते भएका थिए। उनको दायाँ हातमा चोट लागेको जनाइएको छ।
घरेलु मैदानमा स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले चार खेलमा १३ विकेट लिएका थिए। उच्च अदालत पाटनले उनलाई विदेश जान रोक लगाएकाले सन्दीप नेपाली टोलीसँग दुबई जान पाएका थिनन्।
यूएई र पएिनजी सम्मिलित एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालल सोमबार पपुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको छ। नेपालले अब बिहीबार घरेलु टोली यूएईसँग खेल्दैछ। यसैगरी शुक्रबार पीएनजी र सोमबार पुनः यूएईसँग खेल्नेछ।
पीएनजीमा आयोजना हुनुपर्ने यो शृंखला मैदान अभावका कारण यूएईमा सारिएको हो। सन् २०१९ देखि सुरु विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपालको अन्तिम त्रिकोणात्मक शृंखला हो। नेपाल २९ खेलमा २८ अंक जोडेको छ। १३ खेलमा जित निकालेको नेपालले १४ खेलमा भने हार बेहोरेको छ। नेपाल तालिकाको छैटौं स्थानमा यथावत छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट