क्रान्तिकारी झकबहादुर सुर्खेतको सहइन्चार्ज

रिपोर्ट नेपाल | 2019 Jul 22 | 02:43 pm 2355

सुर्खेत, साउन ६:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता झक बहादुर मल्ल (सुदीप) नेकपा सुर्खेतको सह इन्चार्जमा चयन भएका छन् ।

नेकपा सचिवालयको आईतबार बसेको बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता दिईएका ६ महानगरपालिकाको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने क्रममा मल्ललाई सुर्खेतको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।

मल्ल तत्कालिन नेकपा माओवादीको २०५९ सालमा सुर्खेतको सेक्रेटरी भइसकेका नेता हुन् । २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले गरेको विद्रोहबाट प्रभावित भएर २०५४ मा एरिया सेक्रेटरीबाट राजनीतिमा हाम फालेका नेता मल्ल २०५९ सालमा जिल्ला सेक्रेटरी बन्न सफल भएका थिए ।

२०६० सालपछि जनमुक्ति सेनाको कम्पनी कमिसार हुँदै ब्रिगेड कमिसारसम्मको अनुभव सम्हालेका उनी हाल नेकपाको केन्द्रीय सदस्य समेत रहेका छन् । २०५७ सालमा गिरफ्तारीमा परेका मल्लले जेलमा रहँदा ३२ फुट लामो सुरुङ खनेर जेलब्रेक गर्न सफल भएका थिए । राजनीतिक रुपमा अत्यन्तै परिपक्क मानिने मल्ल शाहसिक नेताका रुपमा परिचित छन् ।

शहिद परिवारका सदस्य मल्लका दाई कुलबहादुर मल्लले २०५७ सालमा शहादत प्राप्त गरेका थिए । सहइन्चार्ज मल्लकी पत्नी भुमीसरा वलीले पनि २०५९ सालमा शहादत प्राप्त गरेकी थिइन् । कार्यकर्ताबीच अत्यन्तै लोकप्रिय मानिने मल्लको नियुक्तिपछि सुर्खेतका कार्यकर्ताले खुसीयाली मनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.