काठमाडौं, मंसिर २ : अमेरिकास्थित क्यालिफोर्निया राज्यमा भएको भिषण आगलागीमा ७१ जनाको ज्यान गएको छ। अमेरिकी इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न राष्ट्रपति डोनल्ड ट्रम्प क्यालिफोर्निया पुगेका छन्।
क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गएको बताइएको छ। एक हजारभन्दा बढी मानिस हराइरहेका छन् र अधिकारीहरूले त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।
प्याराडाइज नगरमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यस्तो दृश्य देख्न पाउँदा दुःख लागेको बताए।
जङ्गलको कमजोर व्यवस्थापनका कारण यस्तो विपद् निम्तिएको भनी आफ्नो दावीलाई ट्रम्पले दोहोर्याए। उनले भने, “हामीले हाम्रो व्यवस्थापनमा सुधार ल्याउनुपर्ने छ र वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नेछौँ, यो डढेलो सबैले हेरेको हुनुपर्छ।”
विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्याएका छन्। प्याराडाइज नगरमा ट्रम्पले कानून कार्यान्वयन गराउने स्थानीय निकाय, राजनीतिज्ञ र खोजी कार्यमा संलग्नहरूको प्रशंसा गरे।
उनले भने, “यो हेर्नुपर्दा निकै दुःख लागेको छ। अहिले हामीले नराम्ररी घाइते भएका मानिसहरूको हेरचार गर्न चाहेका छौँ।” प्याराडाइज नगरमा थप शवहरू भेटिएपछि डढेलोमा परी ज्यान गुमाउनेको सङ्ख्या शुक्रवार ७१ पुगेको हो।
डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन्।
क्याम्प फायर शुरू भएको आठौँ दिन पुगिसक्दा सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरहरूले फरेन्सिक टोलीलाई शव खोज्न सघाइरहेका छन्। क्याम्प फायर करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ। यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने बताएका छन्।