को-को सांसद्‍ले फिर्ता गरे घर भाडा ?

रिपोर्ट नेपाल | 2018 Dec 20 | 07:00 am 2056

काठमाडौं, पुस ५ : राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।

संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गरिसकेका छन् ।

नेकपाका यज्ञबहादुर सुनुवार, योगेश भट्टराई र कांग्रेसका अमरेशकुमार सिंहले आफूले लिएको भाडा तलबबाट कट्टा गर्न सचिवालयलाई पत्र बुझाएका छन् । उनीहरू सबैले सचिवालयको गल्तीले घर भाडा आफ्नो बैंक खातामा आएको दाबी गरेका छन् ।

संघीय संसद् सचिवालयले काठमाडौं उपत्यकामा घर भएका सांसदले पनि सरकारबाट भाडा लिनुलाई सामान्य गल्ती भन्दै ढाकछोप गरेको छ । तिनै सांसदको दबाबमा सचिवालयले मंगलबार विज्ञप्तिमार्फत बचाउ गरेको हो ।

‘सामान्य तथ्यांकीय गल्ती’ लाई आधार मानेर समाचार प्रकाशन हुँदा जनप्रतिनिधिको आत्मामा चोट पुगेको विज्ञप्तिमा उल्लेख छ । ‘असोजको तथ्यांकलाई अद्यावधिक नगरी सूचना लिएको दुई महिनापछि समाचार सम्प्रेषण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा माननीय सांसदले समय–समयमा उपलब्ध गराउनुभएको सूचनाका आधारमा सचिवालयबाट भुक्तानीमा भएका सामान्य तथ्यांकीय गल्तीलाई आधार मानी सम्प्रेषित समाचारबाट सम्मानित जनप्रतिनिधिहरूको आत्मामा चोट पुगेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.