काठमाडौँ ०१ चैत / मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र संविधानविद्सँगको छलफलपछि कोशी प्रदेशमा आफ्नो विकल्प नभएको प्रतिक्रिया दिएका छन्।
कोशी प्रदेशको अवस्था के कस्तो छ भन्ने विषयमा छलफल भएको थियो। कोशी प्रदेश सरकार निरन्तर चल्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ भन्ने कुराको निस्कर्ष निकालिएको थियो ।
केन्द्रमा भएको पछिल्लो राजनीतिक समीकरण र कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका विषयमा भेट केन्द्रित रहेको थियो। देउवा निवासमा भएको छलफलमा कोशीमा कार्कीको विकल्प नभएको निष्कर्ष निकालिएको छ।
सरकार गठन प्रक्रियाका सम्पूर्ण धाराहरू प्रयोग भएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफ्नो नेतृत्वमा बनेको कोशी प्रदेश सरकारको विकल्प नभएको बैठकले ठहर गरेको छ ।
नयाँ सरकार गठनको सम्भावना नरहेको मुख्यमन्त्री कार्कीको जिकिर छ।नयाँ सरकार गठनको सम्भावना नभएको निष्कर्ष आएको बताउँदै कार्कीले भने, “अर्को विकल्प सोच्नु भनेको कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा धकेल्नु हो।”
कोशीमा अहिले अर्को सरकारको विकल्प नै छैन। यस विषयमा संविधानविद्सँग पनि छलफल गरेको कार्कीले बताए। उनले भने, ढुक्क हुनु पर्ने कुरा कोशीमा नयाँ सरकार गठनको सम्भावना छैन, सभापतिसँग पनि यहि विषयमा छलफल भयो।”
नयाँ सरकार गठन वा अविश्वासको प्रस्ताब ल्याएर हटाउन सक्ने कुनै सम्भावना नरहेको निचोडमा पुगेको सुनाउँदै कार्कीले अहिले सरकारमा सहभागी कसैलाई हटाउनेबारे नसोचेको बताए। “अहिलेकै मन्त्रिपरिषद् निरन्तर रहने कोशीमा सर्वदलीय सरकार गठनका लागि संधै आह्वान गर्छ।
मुख्यमन्त्री कार्कीले देउवा लगायत कांग्रेस पदाधिकारीसँग भेटवार्ता गरेका हुन्। कार्कीसँगको छलफलमा सभापति देउवा लगायत नेताले पनि सरकार टिकाउनुपर्नेमा जोड दिएका छन्।