कोलम्बियाको जितसँगै विश्‍वकपबाट बाहिरियो पोल्याण्ड, जापान र सेनेगलले अंक बाँडे

| 2018 Jun 25 | 06:18 am 3319

काठमाडौं, असार ११: फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा कोलम्बियाले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई ३ – ० गोल अन्तरले हराएको हो । कजान एरिनामा कोलम्बियालाई जित दिलाउन यरी मिना, कप्तान राडमेल फाल्काओ र जुवान काउड्राडोले समान एक एक गोल गरे ।

खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए । उनले हेडबाट उकृष्ट गोल गरेका हुन् । पहिलो हाफमा १ – ० को अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७० औं मिनेटमा फाल्काओले गोल गर्दै कोलम्बियालाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा काउड्राडोले गोल गर्दै कोलम्बियालाई ३ – ० को महत्वपूर्ण जित दिलाए । पोल्याण्डले खेलमा केहि राम्रो आक्रमण गरेपनि गोल निकाल्न नसक्दा कोलम्बियासँग स्तब्ध बनेको हो ।

जितसँगै समूह एचमा कोलम्बियाले ३ अंक जोडेको छ । लगातार दुई खेल गुमाएको पोल्याण्ड भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको पहिलो खेलमा पोल्याण्ड सेनेगलसंग २–१ ले पराजित भएको थियो । कोलम्बिया पहिलो खेलमा जापानसंग २–१ ले पराजित भएको थियो ।

त्यसैगरी आइतबार भएको अर्को खेलमा जापान र सेनेगलले २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।एक्टेरीङबर्ग स्टेडियममा सेनेगलले लिएको दुई पटकको अग्रता उल्टाएर जापानले बराबरी खेलेको हो । सेनेगलका लागि साडियो माने र मौसा वागुएले एक एक गोल गरे । जापानका ताकासी इनुई र किसुके होन्डाले एक एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता सेनेगलले बनाएको थियो । खेलको ११ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् । जापानको किपरले पन्च गरेर क्लियर गर्न खोजेको बल मानेलाई ठोक्किएर गोल भएको थियो । तर, खेलको ३४ औं मिनेटमा ताकासीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १ – १ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेनेगलले पुन अग्रता बनाएको हो । सेनेगलका वागुएले खेलको ७१ औं मिनेटमा गोल गर्दै सेनेगललाई २ – १ को अग्रता दिलाए । १९ बर्षीय वागुएको यो राष्ट्रिय टोलीका लागि पहिलो गोल हो । तर, खेलको ७८ औं मिनेटमा होन्डाले गोल गर्दै जापानलाई खेलमा फर्काए । सिन्जी कागवाको स्थानमा दोस्रो हाफमा मैदान पसेका होन्डाले गोल गर्दै खेल २ -२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै दुवै टोलीले समूह एचमा ४ – ४ अंक जोडेको छ । र, दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ । यसअघि पहिलो खेमा एसियाली पावर हाउस जापानले कोलम्बियालाई २ – १ ले पराजित गरेको थियो । यस्तै सेनेगलले पोल्याण्डलाई २ – १ ले नै हराएको थियो ।

अब जापानले अन्तिम खेलमा पोल्याण्ड र सेनेगलले कोलम्बियासँग खेल्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.