कोरोना संकट अझै खराब भएर जान सक्ने डब्लूएचओको चेतावनी

रिपोर्ट नेपाल | 2020 Jul 14 | 07:43 am 1920

एजेज्सी, असार ३०ः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संकट अझै खराब भएर जान सक्ने चेतावनी दिएको छ । सबै राष्ट्रहरूले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरूको पालना नगरेमा विश्वव्यापी कोरोना भाइरस महामारी संकट गहिरिँदै जान सक्ने भन्दै डब्लूएचओले चेतावनी दिएको हो ।

डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेसेसले सोमबार जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन्, मलाई सोझो भन्न दिनुहोस् कि धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन् । कोरोना भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ र यसो संकट खराब हुँदै जान सक्छ ।

उनले देशहरूले यो महामारी नियन्त्रणका लागि आधारभूत कुराहरुलाई पालना नगर्ने हो भने महामारी जारी रहने र यो झनै खराब बन्दै जाने बताए । अहिले थुप्रै कमजोरी रहेको भन्दै उनले यस किसिमले हुन नहुने बताए ।

धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ, उनले चेतावनी दिँदै भने, तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखिँदैन, तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् । यसमा गम्भीर हुनुहोस् ।

महामारीको चपेटामा फसिरहेको जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकनै पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी रहेको टेड्रोसको भनाइ छ ।

त्यस स्थितिमा पुग्नका लागि तीनवटा कुराको आवश्यकता रहेको बताउँदै उनले भने, मृत्युदरलाई घटाउने कुरामा केन्द्रित हुने र संक्रमण दरमा कमी ल्याउने । समग्र समुदायलाई जोगाउने गरी आफ्नै खालका उपायहरु अपनाउने बलियो र सक्रिय समुदायको निर्माण गर्ने । र, बलियो सरकारी नेतृत्व र सूसुचित गर्ने कुरा । यो गर्न सकिन्छ र गरिनु नै पर्छ ।

हाल विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३२ लाखभन्दा बढी पुगिसकेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म ५ लाख ७४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.