विराटनगर, माघ २९: मोरङको रंगेली नगरपालिका–१ का दरपलाल चौधरीले आँखा मधुरो देख्न थाले। केही समयपछि नै दायाँ आँखाले कामै गर्न छाड्यो।
विराटनगर आँखा अस्पतालले १ वर्षअघि गाउँमा आयोजना गरेको स्वास्थ्य शिविरमा परीक्षण गराउँदा मोतियाविन्दुको समस्या रहेको पत्ता लाग्यो। त्यहीबीचमा कोरोना महामारी चरम उत्कर्षमा पुग्यो। नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ गर्यो। थप उपचारका लागि चौधरी विराटनगरसम्म आउन डराए।
‘आँखा नदेख्ने समस्या छँदै थियो। त्यहाँमाथि कोरोनाको त्रास सुरु भयो,’ उनले भने, ‘उपचारका लागि अस्पताल जाँदा कोरोना सल्किने डर थियो। लामो समयसम्म घरमै बस्दा एउटा आँखा त देख्नै छाडें।’ आँखाको समस्या झन् बढ्दै गएपछि केही दिनअघि अस्पताल भर्ना भएर चौधरीले शल्यक्रिया गराए। सफल उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किसकेका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का ६९ वर्षीय महादेव यादवको पनि दायाँ आँखाको देख्ने क्षमता कम हुँदै गयो। विराटनगर आँखा अस्पतालले गाउँमै आयोजना गरेको शिविरमा उनको आँखामा मोतियाविन्दुको समस्या रहेको पहिचान भयो। तर कोरोनाको डरले २ वर्षदेखि उपचारका लागि अस्पतालसम्म पुग्ने वातावरण बनेन।
समस्या बढ्दै गएपछि केही दिनअघि विराटनगर आँखा अस्पतालमा शल्यक्रिया गराइएको छोरा हिरालाल यादवले बताए। ‘मोतियाविन्दु आँखाको नानीमै असर गर्ने चरणमा पुगिसकेको रहेछ,’ उनले भने, ‘बुवाले देख्नै छाडेपछि तत्काल अस्पताल भर्ना गरेर शल्यक्रिया गरेपछि अहिले आँखा राम्रो भएको छ।’
कोरोनाको त्रासका कारण चौधरी र यादवजस्ता धेरै बिरामीले अस्पताल पुगेर समयमै आँखाको उपचार तथा परीक्षण गराउन पाएनन्। उपचारमा ढिलाइ हुँदा आँखामा समस्या झन् थपिने गरेको अस्पतालका प्रबन्धक कुमार पृथुले बताए। ‘वर्ष दिनभरि अस्पताल खुलै रहे पनि कोरोनाका कारण आँखाका बिरामीले उपचारका लागि आउन सम्भव भएन,’ उनले भने, ‘जसले गर्दा कतिपयको आँखामा समस्या बढ्दै गएर उपचार नै जटिल बन्ने अवस्था पनि आइरहेको पाइयो।’
_20220212023950.jpg)
विराटनगर आँखा अस्पताल।
पृथुका अनुसार उपचारमा ढिलाइ हुँदा कतिपयको दृष्टि नै गुम्ने स्थिति पनि आइसकेको थियो। कोरोना कालमा पनि अस्पताल खुला नै रहेको जानकारी नहुँदा बिरामी उपचारका लागि नआउने गरेको उनको भनाइ छ। कोरोना महामारीमा पनि अस्पतालले स्वास्थ्य मापदण्डको पालना गरेर सेवा दिएको पृथुले बताए। उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १ सय ५० जना स्वास्थ्यकर्मी छन्।
‘महामारीका बेला यातायात बन्द हुँदा बिरामीले अस्पतालसम्म जान सकेनन्। कतिपयको समस्या छिप्पिँदा उपचार नै गाह्रो भयो,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट एवं नेत्र रोग विशेषज्ञ डा. ललित अग्रवालले भने, ‘आँखा सम्बन्धी समस्या भएमा तत्काल अस्पताल पुग्नुपर्छ। अस्पताल सबै दिन खुला हुन्छ।’ उनका अनुसार अन्यत्रबाट रेफर भएर आएका बिरामीले पनि आँखाको थप उपचारमा पुग्न ढिलाइ गर्ने गरेको पाइन्छ।
‘उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आँखाको समस्या धेरै हुने भएकाले नियमित परीक्षण र उपचार गराउनुपर्छ। सबै उमेर समूहकालाई आँखा सम्बन्धी समस्या देखिन सक्छ,’ डा. अग्रवालले भने, ‘बेलैमा उपचार गराए निको हुन्छ। ढिलाइ गरेमा दृष्टि नै गुम्ने खतरा हुन्छ।’ उनले सुरक्षाको उपाय अपनाएर अस्पताल पुग्दै बिरामीले जतिबेलै पनि आँखाको उपचार गराउन सक्ने र उपचारमा ढिलाइ एवं लापरबाही गर्न नहुने बताए।
आँखा मानव शरीरको महत्वपूर्ण अंग भएकाले समयमै उपचार गराएमा जिन्दगीभर दृष्टिविहीन बन्नुपर्ने अवस्थामा मुक्त भइने डा. अग्रवालले बताए। ‘उपचारका लागि आउने धेरै जनाले आँखाको समस्यालाई वास्तै नगर्ने गरेको पाइयो,’ उनी भन्छन्, ‘दृष्टि गुमेपछि कतिपयको नानी नै प्रत्यरोपण गर्नुपर्ने अवस्था पनि आइरहेको छ।’ अग्रवालका अनुसार उपचारमा ढिलाइ हुँदा दृष्टि गुम्ने, उपचार सम्भव नहुने, उपचार भए पनि समस्या बल्झिरहने हुनसक्छ।
सन् २००४ मा स्थापना भएको अस्पतालबाट हालसम्म ६० लाख जनाभन्दा बढीले स्वास्थ्य परीक्षण र उपचार गराएको प्रबन्धक पृथुले बताए। उनका अनुसार सात लाख जनाभन्दा बढीको आँखाको शल्यक्रिया भएको छ। ‘यो अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार हुन्छ,’ उनले भने, ‘अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको व्यवस्था छ।’
अस्पतालमा आँखाको नानीको प्रत्यारोपण गरेर गुमेको दृष्टि फर्काउने काम पनि हुँदै आएको पृथु बताउँछन्। १ वर्षमा २ सय जनासम्मको नानी प्रत्यारोपण गरिँदै आएको उनको भनाइ छ। अहिलेसम्म २ हजार ५ सय जनाले यो सेवा लिइसकेका छन्। यो अस्पतालमा उपचारका लागि छिमेकी मुलुक भारत, बंगलादेश र भुटानबाट पनि बिरामीहरु आउने गरेको जानकारी पृथुले दिए।
उनका अनुसार अस्पतालबाट १ वर्षमा ५ लाख जनासम्मको आँखा र कानको उपचार हुँदै आएको छ। जसमा ४५ प्रतिशत भारत, ५ प्रतिशत बंगलादेश र २ प्रतिशत भुटानका बिरामी हुने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ। गत वर्ष ५१ हजार जनाको आँखा शल्यक्रिया गरिएको पृथुले बताए। कोरोनाका कारण उपचारका लागि आउने बिरामीको संख्यामा कमी आएको उनको भनाइ छ। ‘वार्षिक ५ लाख जनासम्मको उपचार हुँदै आएकोमा गत वर्ष ३ लाख जनाले मात्रै सेवा लिए,’ उनी भन्छन्, ‘कोरोनाका कारण आँखाको समस्या भएकाहरु उपचारका लागि आउन डराउने गरेको पाइयो।’
पृथुका अनुसार फेको, जेप्टोजस्ता आधुनिक प्रविधिमार्फत मोतियाविन्दुको सफल उपचार हुन्छ। जलविन्दु, रेटिनाको विशेष शल्यक्रिया, आँखाको नानीको प्रत्यारोपण, ओकुलोप्लास्टी समेत आधुनिक प्रविधिमार्फत गरिँदै आएको उनले बताए। ‘आँखाको उपचारका लागि विराटनगरबाट बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘सस्तो र गुणस्तरीय सेवाकै कारण नेपाल मात्रै नभएर अरु मुलुकबाट पनि बिरामी यहाँ आउने क्रम बढ्दो छ।’
विराटनगर आँखाको उपचारको हब बन्दै गएको छ। विराटनगर आँखा अस्पतालसहित रामलाल गोल्छा, तापडिया, विराट लगायतका ठूला आँखा अस्पतालहरु विराटनगरमा छन्। सरकारी अस्पताल कोसीसहित अरु निजी स्वास्थ्य संस्थामा पनि आँखाको उपचार हुँदै आएको छ।
डा. अग्रवालका अनुसार सन्तुलित आहार र हरियो सागसब्जी नखानेहरुलाई आँखाको समस्या धेरै हुन्छ। साथै स्वच्छ वातावरणमा नबस्ने र रोगलाई सामान्य मान्नेहरुको आँखामा धेरै समस्या हुने गरेको उनले बताए। ‘नजिकबाट टिभी र मोबाइल धेरै हेर्ने गरेका कारण बालबालिकामा आँखाको समस्या बढ्दो छ। आँखाको कमजोरीले धेरै बालबालिकालाई चश्मा अनिवार्यजस्तै भइसकेको छ,’ उनले भने, ‘यस्तो कुरामा अभिभावकले ध्यान दिनुपर्छ। टिभी र मोबाइलको अत्यधिक प्रयोगले बालबालिकाको आँखालाई कमजोर बनाइरहेको छ।’ अन्नपूर्ण पाेस्ट दैनिकबाट