कोरोना महामारीले अप्ठेराेमा परेकाका लागि सुपथ मूल्यको पसल सञ्चालन

रिपोर्ट नेपाल | 2021 Jun 07 | 09:14 am 257

रुकुम, जेठ २४ः रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । गत वर्षदेखि थालिएको पसल यो वर्ष पनि सञ्चालनमा छ । कोरोना महामारीका कारण असजिलोमा रहेकाहरूका लागि भन्दै नगरपालिकाले दुई ठाउँबाट सुपथ मूल्यका सामग्री बिक्रीवितरण गरिरहेको हो । हेरक मङ्गलबार र शुक्रबार नगर प्रहरीले सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण गरेका छन् ।

नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट किनेर ल्याएका सामग्री सर्वसाधारणलाई बिक्री गरिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा पुग्न सर्वसाधारणलाई टाढा रहेको भन्दै नगरपालिकाले नगरमै यस्तो व्यवस्था गरेको हो । वडा नं १ देखि ९ सम्मका लागि वडा नं २ को सेवानजिकै खाद्य सामग्री बिक्रीवितरण केन्द्र तोकिएको छ । वडा नं १० देखि १४ का सर्वसाधारणलाई लक्षित गरी ११ नम्बर वडाको टाटा बजारमा यसको बिक्री केन्द्र राखिएको नगरपालिकाले जनाएको छ । यी पसलमा दुई खाले मूल्य निर्धारण गरिएको छ । उपभोक्ता कार्ड लिएका र नलिएकाहरूका हकमा केही फरक मूल्य निर्धारण गरिएको छ ।

नगरपालिकाबाट उपभोक्ता कार्ड लिएकाहरूले चामल प्रतिकिलो रु ५०, चिनी प्रतिकलो रु ७० र खाने तेल प्रतिलिटर रु २२० मा किन्न पाइरहेका छन । उपभोक्ता कार्ड नपाएकाका लागि भने चामल प्रतिकिलो रु ५५, चिनी रु ८० र तेल प्रतिलिटर रु २३० मूल्य निर्धारण गरिएको छ । केही समय नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन स्थगित गरेको थियो । कोरोनाका कारण सर्वसाधारणलाई समस्या परेको भन्दै नगरले फेरि निरन्तरता दिएको हो ।

गत वर्षको कोरोना महामारीका कारण नगरपालिकाले नगरवासीलाई उपभोक्ता कार्ड वितरण गरेको थियो । राहत वितरणमा सजिलो हुने भन्दै मापदण्डका आधारमा अति विपन्न परिवारलाई उपभोक्ता कार्ड प्रदान गरेको थियो । त्यही कार्डका आधारमा सुपथ मूल्य पसलका साथै अरूअरू काममा पनि नगरपालिकाले छुट दिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए  । नगरपालिकाले उपभोक्ता कार्ड वितरण गरेपछि हरेक कामकाज, योजना निर्माण र कार्यान्वयनमा सजिलो भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.