कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

रिपोर्ट नेपाल | 2020 Aug 06 | 08:25 am 2750

काठमाडौं, साउन २२ः चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युुवा केदार कार्कीलाई पनि आफू काम गर्दैै आएको मुलुक जापान फर्कन मन छ । उनले जापान फर्कन धेरै प्रयास गरे ।

तर, कोरोना भाइरस ९कोभिड–१९० महामारीबाट सिर्जित समस्याका कारण खतिवडा र कार्की दुवै कार्यक्षेत्रमा फर्कन सकेनन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै आफ्नो कार्यथलो मुलुक जान नपाएका हुन् ।

त्यसो त अहिले लामो समयदेखि धेरै देशमा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । कतिपय देशले त अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाइरहेका छन् । तर, पछिल्ला केही दिनमा भने अन्तर्राष्ट्रिय उडानका लागि ‘हरियो बत्ती’ बल्न थालेको छ । त्यसैले खतिवडा र कार्की पनि जापान जान खोजिरहेका हुन् ।

पछिल्ला केही दिनदेखि जापान जान ‘नो अब्जेक्सन लेटर’ लिन जापानी राजदूतावासअघि भीड लाग्न थालेको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला उनीहरूले स्वदेश छाड्न खोजेका हुन् ।

अहिले जापानको रोजगारदाता कम्पनी आफैंले काम विशेषले र बिदामा आएकाहरूलाई तुरुन्त फर्कन भनेकाले उनीहरूले स्वदेश छाड्न खाजेका हुन् । रोजगारदाता कम्पनीले बोलाएको समयमा पुगिँदैन कि भन्ने डर पनि उनीहरूमा देखिन्छ । नपुगेको खण्डमा रोजगारीमै असर पर्ने भय पनि उनीहरूमा देखिन्छ ।

चितवनका खतिवडाले जापान सरकारले आफूहरूलाई प्रवेश गराउने भनेकाले नो अब्जेक्सन लेटर लिन लाइनमा बस्नुपरेको सुनाए । उनले गत शुक्रबार आफूले फाराम बुझाई टोकन लिएर गएको र बुधबार नो अब्जेक्सन लेटर लिन लाइनमा बसेको सुनाए ।

पाँच वर्षअघि उच्च शिक्षा अध्ययनका लागि जापानको नारिता पुगेर अध्ययनसँगै काम गरी बिदामा घर आएको जानकारी गराउँदै खतिवडाले भने, ‘अहिले काम गरिरहेको रोजगारदाता कम्पनीले जतिसक्दो चाँडो आउनू भनेको छ, अब चार्टर उडानको बढी भाडा तिरेरै भए पनि फर्किने मनस्थिति बनाएको छु ।’

रोजगारदाताले बोलाएको बेला पुगिएन भने यहाँ बेरोजगार भएर बस्नुपर्ने र घरपरिवारको खर्च धान्नै मुस्किल हुने अवस्था आउन सक्ने चिन्ताले जतिसक्दो छिटो नो अब्जेक्सन लेटर लिएर फर्किन लागेको उनको भनाइ छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.