कोरोना प्रभावित व्यवसायीलाई ८२ अर्ब पुनर्कर्जा

| 2021 Jan 08 | 08:53 am 2005

काठमाडाैं, पुस २४ः नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।

बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ऋण प्रवाह गरेबापत राष्ट्र बैंकसँग कर्जामा लिने शोधभर्ना पुनर्कर्जा हो। राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई सहुलियत प्रदान गर्न पुनर्कर्जाको व्यवस्था गरेको छ। चार महिनामा उक्त रकम वितरण गरेको राष्ट्र बैंकले दोस्रो चरणमा पुनः पुनर्कर्जा वितरण गर्न अर्को सूचना सार्वजनिक गरेको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार दोस्रो चरणमा पुनर्कर्जा लिन चाहनेले यही माघ १५ सम्म आवदेन गर्न सक्नेछन्।

पहिलो चरणमा राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ ५० अर्ब र ग्राहक मूल्यांकनका आधारमा ३२ अर्ब रूपैयाँ उपलब्ध गराएको हो। कोरोना भाइरसको महामारीले समस्यामा परेका व्यवसायीलाई सहायता प्रदान गर्न राष्ट्र बैंकले पुनर्कर्जा कोषको पाँच गुणासम्म उपलब्ध गराउने घोषणा गरेको छ। कोषमा ४२ अर्ब रूपैयाँ रहेकाले करिब दुई खर्ब रूपैयाँ पुनर्कर्जामा जानसक्ने भट्टले बताए।

राष्ट्र बैंकका अनुसार वाणिज्य, विकास बैंक र वित्तीय संस्थाले कोरोनाबाट प्रभावित कर्जामा ब्याज सहुलियतका लागि पुनर्कर्जाको माग गर्न सक्नेछन्। कुन क्षेत्रका व्यवसायीले पुनर्कर्जा पाउने भन्नेबारे राष्ट्र बैंकले यसअघि नै निर्धारण गरिसकेको छ।

राष्ट्र बैंक अधिकारीहरूका अनुसार पहिलो चरणमा वितरण गरिएको भन्दा केही बढी रकम पुनर्कर्जामा वितरण गर्ने लक्ष्य भए पनि एकातिर पर्याप्त माग नआएको र अर्कोतर्फ केही माग मापदण्ड विपरीत आउँदा अनुमानभन्दा कम रकम वितरण हुन पुगेको हो। माग गरिएको रकममध्ये करिब १९ अर्ब रूपैयाँ मापदण्ड विपरीत हुँदा त्यो रकम वितरण हुन नसकेको बताइएको छ।

यसअघि गरिएको आह्वानमा कम्तीमा ७० प्रतिशत कर्जा लघु, घरेलु तथा साना उद्योगमा जानुपर्ने सर्त तोकिएको थियो। अहिले भने त्यस्तो व्यवस्थालाई परिवर्तन गरेर ऋणीलाई अधिकतम मात्रामा समेट्ने व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.