कास्की, पुस २६ः नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार सात सय ६२ (५.१ प्रतिशत) थियो।
नेपालमा यति धेरै पाहुना भित्रिने मुलुक स्रोत बेलायत कोरोना भाइरसको नयाँ प्रकारले यतिबेला आक्रान्त छ। कोरोनाको नयाँ प्रकारको भाइरस अहिले बेलायतसहितका विभिन्न मुलुकमा तीव्ररूपमा फैलिँदा त्यसको चिन्ता पर्यटनमा छाएको छ। कोरोना संक्रमणका कारण झन्डै एक वर्षदेखि विदेशी पाहुनाविहीन भएको पर्यटन क्षेत्र यो बेलासम्म सुधारको अपेक्षामा थियो। तर, व्यवसायीको त्यो अपेक्षा बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरस र त्यसको तीव्र संक्रमणसँगै निराशामा बदलिएको छ।
नयाँ भाइरसको तीव्र संक्रमणसँगै पर्यटन क्षेत्रका जानकारले भन्न थालेका छन्, ‘पर्यटन क्षेत्र अझै केही वर्ष पछाडि धकेलिने निश्चित भयो।’ नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये बेलायतको हिस्सा ‘टप फाइभ’ भित्र पर्छ। तर, कोरोनाको नयाँ भाइरसले बेलायतसहितका मुलुक आक्रान्त हुँदा पर्यटनमा त्यसको नकारात्मक असर पर्ने पक्का भएको उनले बताए। ‘बेलायतसहितका मुलुक कोरोनाको नयाँ भाइरसले आक्रान्त छन्। अघिल्लो वर्ष देखिएको कोरोना यो बेलासम्म केही कमजोर हुने र पर्यटकको हिँडडुल सुरु हुने अनुमान थियो,’ लामिछानेले भने, ‘तर, त्यो अनुमान अपूरो हुने निश्चित छ।’
लामिछानेका अनुसार नेपालमा आउने विदेशी पर्यटकको संख्या भारत, चीन, अमेरिकापछि बेलायतलगायत मुलुकका बढी हुन्थे। तर, अहिले बढी पर्यटक आउने मुलुकमै कोरोनाको नयाँ संक्रमणले त्रास फैलाएको उनले बताए। ‘यो बेलासम्म कोरोना कम होला र विदेशी आउन थाल्नेछन् भनेर व्यवसायी ढुक्क थिए। तर, अब नयाँ भाइरसका कारण पाहुनाको हिँडडुल अझै पछाडि धकेलिने निश्चित भयो,’ लामिछानेले भने, ‘नयाँ भाइरसको लहर नयाँनयाँ मुलुकमा फैलिँदा त्यसको प्रभाव पनि बढिरहेको छ। विभिन्न मुलुकले नयाँ भाइरसको त्रासले गर्दा लकडाउन सुरु गरिसकेका छन्। नेपालले विदेशी पर्यटक पाउने मुख्य स्रोतमै कोरोनाको नयाँ भाइरसले आक्रान्त बनाएको छ।’
नेपालमा सन् २०१५ मा २० हजार चार सय ४६ बेलायती पाहुना भित्रिएका थिए। भूकम्पका कारण त्यो वर्ष आगमन कम भएपनि सन् २०१६ मा बढेर ४६ हजार दुई सय ९५ पुगेको थियो। सन् २०१७ मा नेपाल आउने बेलायती पाहुनाको संख्या ५१ हजार थियो। त्यो संख्या उक्लिएर २०१८ मा ६३ हजार चार सय ६६ पुगेको थियो। ‘नेपालमा विदेशी भित्रिने मुख्य स्रोतभित्र बेलायतको स्थान बलियो छ। तर, अब त्यही श्रोतमा नै असर पारेको छ,’ लामिछानेले भने, ‘युरोपियन मुलुकमा कोरोनाको नयाँ लहरले सबैतिर चिन्ता फैलाएको छ। यस्तो बेला विदेशी यात्रामा निस्कन सक्दैनन्। अन्य मुलुकमा पनि लहर फैलिँदै जाँदा सर्वत्र चिन्ता छ।’ नागरिक दैनिकबाट