कोभिडमा अनलाइन शिक्षाको नाम लिई बाँडियो ४७ करोड

रिपोर्ट नेपाल | 2021 Feb 04 | 09:25 am 2165

देशभर सञ्चालित ११ वटै विश्वविद्यालयका ३ सय निकायमा अनलाइन शिक्षाको नाममा रकम वितरण गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ। जसमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयलाई दिइएको छ। त्रिविका एक सय १२ निकायलाई १४ करोड ६२ लाख ५० हजार रकम उपलबध गराइएको हो भने अन्य विश्वविद्यालयका विभिन्न निकायमा अनलाइन शिक्षाका लागि प्रतिनिकाय साढे १२ लाख रूपैयाँका दरले वितरण गरिएको छ।

अनलाइन कक्षा सञ्चालन गर्ने विश्वविद्यालय तथा कलेजहरूले अनलाई कक्षा सञ्चालनका लागि भौतिक पूर्वाधार विकास, अनलाइन परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन, पाठ्यक्रम विकास, शिक्षक तालिममा खर्चिनुपर्ने तय गरिएको थियो। अनलाइन शिक्षाको प्रभावकारिता भने हुन सकेन। विश्वविद्यायमा अनलाइन कक्षामा विद्यार्थी सहभागिता नै न्यून भएर अनलाइन कक्षा अघि बढ्न नसकेको त्रिविका प्राडा जगदीशचन्द्र भण्डारी बताउँछन्। विद्यार्थीहरू अनलाइन शिक्षामा अभ्यस्त हुन नसकेपछि अनलाइन परीक्षा सञ्चालन हुन सकेन भने अनलाइन कक्षाअनुसार पाठ्यक्रम परिमार्जन तथा भौतिक पूर्वाधारको समेत उचित व्यवस्थापन गर्न नसकेपछि अनलाइन परीक्षा हुन नसकेको उनले बताए। भण्डारी पाटन कलेजमा नेपाली विषय अध्यापन गराउँछन्।

एकातिर उच्च शिक्षा परियोजनाले तय गरेको मुख्य लक्ष्य वाािर्षक परीक्षा सुधार गरि परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने भन्नेमा परियोजनाले प्रवेश नै पाउन सकेन। त्रिविमा अझै पनि वार्षिक प्रणालीमा परीक्षाको समस्या उस्तै छ। परीक्षा सकिएको एक वर्ष लाग्छ नतिजा प्रकाशन हुन्। यसैगरी परियोजनाले प्राज्ञिक र संस्थागत स्वायतत्तामा जोड दिएको थियो। जसमा एक सय १९ वटा क्याम्पस र त्रिभुवन विश्वविद्यालयका ६ वटा निकायलाई गुणस्तर सुनिश्चतता (क्युएए) उपलब्ध गराउने लक्ष्य थियो त्यो पनि असफल रह्यो। उच्च शिक्षा सुधारका लागि ११ हजार ४ सय विद्यार्थीलाई अनलाइन कक्षाका लागि नेट सुविधा भन्दै सहयोग गर्ने लक्ष्यमा पनि असफल भयो। यसैगरी परियोजनाको अर्को लक्ष्य वित्तीय सहयोगबापत वार्षिक प्रतिविद्यार्थी ६ हजार रुपियाँका दरले अनुदान दिने लक्ष्य पनि पूरा गर्न चुक्यो।

‘विश्व बैंकले रकम खर्च गरेपछि उपलब्धि भएको ठान्दो रहेछ,’ विश्वविद्यालय अपनुदान आयोगकै एक पदाधिकारीले गुनासो गरे, ‘नेपाल सरकारले सित्तैमा पाएको रकम होइन। ऋण हो। यत्रो ठूलो रकम कहाँ र कसरी खर्च भयो। के उपलब्धि भयो त्यसको कुनै लेखाजोखा छैन।’ उनले थपे, ‘त्यही भएर हाकिमहरूले परियोजनाको रकम लक्ष्य पूरा हुन नकसेपछि कोभिड र अनलाइन शिक्षाको नाममा खर्च गरे। जुन गलत हो।’ प्राडा भण्डारीले दाताले आफ्नो चाहनाअनुसार दिएको रकम खर्च भयो तर नेपालको उच्च शिक्षामा कुनै लक्ष्य हासिल नभएको बताए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.