काठमाडाैं, माघ २१ः मुलुककै राजधानी भए पनि काठमाडौंमा सवारीसाधन घन्टौं जाममा पर्नु अनौठो विषय रहेन । सरकारले जामलाई व्यवस्थित गर्न अनेकौं उपाय नरचेको पनि होइन । राजधानीका सडक विगतका तुलनामा केही फराकिला पनि बनेकै हुन् । नियमकानुन पनि कडा पारिएका छन् । तर जाम घट्नुको साटो बढिरहेको छ । राजधानीमा सवारीको जाम धेरै हुनुमा सबैभन्दा ठूलो कारण चोकचोकको व्यवस्थापन नहुनु नै हो । विकसित मुलुकहरूले चोकचोकमा ओभरहेड ब्रिज बनाएर सवारीसाधनलाई जाम हुन दिँदैनन् । कतै बाइपासको व्यवस्था हुन्छ भने कतै अन्डरपास बनाइएको हुन्छ । तर नेपालमा अहिलेसम्म एउटा पनि ओभरहेड ब्रिज छैन । राजधानीको कलंकीमा एउटा मात्र अन्डरपास बनाइएको छ ।
कलंकीपछि राजधानीको जाम बढी हुने क्षेत्र कोटेश्वरलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचमा सरकार रहेको देखिन्छ । दुई वर्षदेखिका वार्षिक बजेटमा कोटेश्वर चोकको सवारीसाधन व्यवस्थित गर्ने कार्यक्रम राखिएका छन् । यही कारण विदेशी केही संस्थाले यसबारे काम सुरु गरेका छन् । सरकारले यसअघि नै जडीबुटी–कोटेश्वरको जाम कम गर्ने उद्देश्यले वैकल्पिक मनोहरा करिडोरको निर्माण सुरु गरेको थियो । अहिले निर्माण कार्य सकिएको छ । अब लोकन्थली–नरेफाँट जोड्ने बेलिब्रिजदेखि बालकुमारी पुलसम्मको वैकल्पिक सडक बनेसँगे कोटेश्वर–जडीबुटी खण्डमा सवारी चाप कम भएको छ ।
नरेफाँटदेखि–बालकुमारी पुलतर्फ र ललितपुरबाट भक्तपुरतर्फ जाने सवारीसाधनले अब कोटेश्वर र जडीबुटीको जामको सामना नगईकनै आफ्नो गन्तव्यमा जान सक्ने भएका छन् ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपाली मनहरा करिडोर निर्माणसम्पन्न भएसँगै कोटेश्वर–जडीबुटी सडकखण्डको चाप केही हदसम्म कमी हुने बताउँछन् । ‘यो दुई लेनको वैकल्पिक सडक बनेसँगै अब कोटेश्वर जडीबुटीको जाम केही घट्नेछ,’ उनले भने, ‘नरेफाँटदेखि बालकुमारी जाने सवारीसाधनले अब जडीबुटी– कोटेश्वरको जामबिनै यात्रा गर्न सक्नेछन् ।’ यो सडकखण्डको ठेक्का २०७२ असार ३१ मा एसएमएनएस जयबाबा–एलसिएसपिएएल जेभीले १९ करोड १६ लाख रुपैयाँमा पाएको थियो ।
प्रमुख नेपालीले वैकल्पिक सडक तयार भएसँगै सवारीचालकले केही हदसम्म राहत पाएको बताए । यो सडक निर्माण सुरु भएको झन्डै आधा दशकपछि निर्माण सम्पन्न भएको हो । यो सडकखण्डको लम्बाइ करिब १२ सय मिटर रहेको छ । सो सडकखण्डको ठेक्का शंकरमाली/लामा/जयले पाएको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले यो वैकल्पिक सडकखण्ड तोकिएको समयभन्दा धेरै पछि मात्रै निर्माण सम्पन्न भएको हो ।
सरकारले पछिल्लो समय वाग्मती करिडोर, हनुमन्ते करिडोर, नक्खु, विष्णुमती, मनोहरालगायत नदीको करिडोर निर्माण गरेर उपत्यकाको मुख्य सडकको चाप कम गराउँदै आइराखेको छ । डिभिजन सडक कार्यालयले पेप्सीकोलाबाट आएका सवारीसाधनलाई जडीबुटीको कार्यालयतर्फ मोडेर मनहरा पुलमुनिबाट सीधै बालकुमारीतर्फ पुलमुनिबाट अन्डरपास गरेर सवारीसाधन पास गराउने योजना अघि सारेको छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नेपालीले ५ करोड लागतमा पुलमुनिबाट अन्डरपास निर्माण गर्न लागिएको बताए । ‘मनहरापुल अन्डरपास खोल्नेबित्तिकै धेरै हदसम्म जाम कम हुनेछ,’ उनले भने, ‘यो अन्डरपास एक वर्षभित्रै खोल्नेछौं ।’ त्यसैगरी भक्तपुरतर्फबाट आई पेप्सीकोलातिर जानेलाई पनि पुलमुनिबाट पठाउन सकिन्छ । नागरिक दैनिकबाट