काठमाडौँ, फागुन २६ :प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको आरोप लगाएका छन् ।
काँग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभामा प्रवक्ता शर्मा भने, ‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो । जुन विषयमा जनमतसंग्रह गर्नै सकिँदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभयो ।’
उनले सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री ओली फसेर सम्झौता गर्न बाध्य भएको समेत बताए । शर्माले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताए । दुई तिहाईको सरकार भएकोले ५ वर्षमा काम गरेर देखाउने समय भए पनि एक वर्षमा संकेत दिन नसकेको उनको टिप्पणी थियो ।
देखिने गरी समृद्धिको जग बसाल्न नसकेको सरकारको कमजोरी देखाउन काँग्रेस जागरण अभियानमा निस्कनुपरेको शर्माको भनाई थियो ।