काठमाडौँ १७ पुष / एमालेबाट निष्कासित नेता डा. भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो दृष्टिकोण राखेका छन् ।
यही पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।
उनले मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गरेका छन् । जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा पनि रावलले उठाएका छन् । त्यस्तै ठूला भ्रष्टाचारको मुद्दालाई पनि उनले बताएका छन् ।
एमालेबाट निष्कासित नेता भीम रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन्। उनले अन्तर्राष्ट्रिय सम्बन्धपनि फितलो बनाइएको भन्दै असन्तुष्टि पोखेका छन्।
एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन्। उनले अहिले देश र जनताको अवस्था दयनीय बनाईएको टिप्पणी गरे। उनले सत्ताका बागडोर लिएकाहरुले भ्रष्टाचारलाई प्रश्रयदिइरहेको आरोप लगाए।
उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन्। उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए। उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको सुनाए।
उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे।