केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै कांग्रेस

रिपोर्ट नेपाल | 2022 Jan 28 | 07:30 am 297

काठमाडौं, माघ १४ः नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज शुक्रबारका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् । कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको जानकारी दिए ।

‘पार्टीका काम कारबाही छिटोछरितो र नियमित गर्न केन्द्रीय कार्यसम्पादन समितिको वैधानिक व्यवस्था छ, कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बस्न नसकेको अवस्थामा महत्वपूर्ण निर्णय गर्न सकिन्छ,’ कांग्रेस महामन्त्री थापाले राजधानीसँग भने, ‘बैठकको मुख्य एजेन्डा कार्यसम्पादन समिति गठन हो ।

१४औं महाधिवेशन सम्पन भएर नयाँ कार्यसमिति बनेको डेढ महिनापछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्न सकिने हुँदा देउवाको प्राथमिकतामा कार्यसम्पादन समिति परेको हो ।

कांग्रेस विधानअनुसार कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी स्वतः सदस्य हुने व्यवस्था छ । कांग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष तोकिएको छैन । यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्न सक्ने विधानमा व्यवस्था छ ।

सभापतिले केन्द्रीय समितिमा राखेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले बहुमतले अनुमोदन गर्नुपर्नेछ ।

यसैगरी, समितिमा पार्टी प्रवक्ता तथा संसदीय दलका नेता पनि पदेन सदस्य रहने व्यवस्था विधानमा छ । तर हाल प्रवक्ता कसैलाई तोकिएको छैन भने संसदीय दलको नेता देउवा आफैं छन् । यी सबै गरी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुन्छ ।

विधानअनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू भने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ ।

सभापति देउवाले १३औं महाधिवेशनबाट निर्वाचित बनेपछि समेत कार्यसम्पादन समिति गठन गरेका थिए । तर, एकलौटी निर्णय गरेको भन्दै पार्टीभित्र तीव्र विरोध भएपछि विघटन गरिएको थियो ।

हाल कार्यसम्पादन समिति नहुँदा कांग्रेसले पदाधिकारी बैठकबाटै महŒवपूर्ण विषयमा निर्णय लिने गरेको छ । तर, विधानमा भने पदाधिकारीलाई त्यस्तो कुनै निर्णय गर्ने र छुट्टै बैठक बस्ने अधिकार छैन ।

पदाधिकारी तहबाट मात्रै महत्वपूर्ण निर्णय हुँदै गर्दा कतिपय केन्द्रीय सदस्य तथा शीर्ष नेताहरूबाटसमेत निर्णयको विरोध हुने गरेको थियो ।

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत आगामी स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन र अवरुद्ध संसद् सुचारुका विषयमा पनि छलफल गर्ने तयारी गरेको छ ।

बढ्दो कारोना संक्रमणका कारण भर्चुअल माध्यमबाट हुने बैठकमा तीनै तहका निर्वाचनका विषयमा पनि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘लामो समयदेखि संसद् अवरुद्ध छ, निर्वाचनका विषयमा पार्टीभित्र ठोस छलफल नै भएको अवस्था छैन, यो कारण बैठकमा सबै विषय उठ्छन्,’ ती केन्द्रीय सदस्यले भने ।

केही दिनअघि डा. शेखर कोइरालाले नेतृत्व गरेको कांग्रेसको संस्थापन इतर समूहले पनि निर्वाचनसहितका समग्र राष्टिय राजनीतिमा विषयमा केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग राखेको थियो ।

सत्ता गठबन्धनमा पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने भन्नेमा विवाद रहँदै आएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.