केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल | 2024 Mar 11 | 11:50 am 1933

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा पनि परेको छ ।

कर्णाली सरकारको नेतृत्वमा नेकपा एमालेले दाबी गरेपछि मुख्यमन्त्री राजकुमार शर्मासहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता काठमाडौँ आएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुख्यमन्त्रीसहित माओवादी नेताहरुले समयसामयिक विषयमा छलफल गरेको बताइएको छ ।

छलफलमा प्रदेशको टोलीले कर्णालीमा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिनुपर्ने विषयमा प्रचण्डसँग कुरा राखेको थियो । जवाफमा प्रचण्डले सकेसम्म कर्णालीमा यथावत् राख्नेगरी सक्दो प्रयाग गरिने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रको नेतृत्व रहेको प्रदेशमा यथावत् राखेर कांग्रेसले नेतृत्व गर्दै आएको प्रदेशमा मात्र सरकारको नेतृत्व परिवर्तन गरिने बताएको स्रोतको भनाइ छ । माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले समसामयिक विषयमा छलफल भएको बताए । यद्यपि प्रदेशको हकमा राष्ट्रिय सभाको अध्यक्षको चुनाव र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै छलफल गरिने प्रधानमन्त्रीको भनाइ रहेको उनले प्रस्ट पारे ।

तत्कालीन नेकपा हुँदा एमाले नेता यामलाल कँडेलले पटक–पटक प्रयास गर्दा पनि मुख्यमन्त्री हुन सकेका थिएनन् । बिहीबार बसेको एमाले प्रदेश कमिटीको बैठकमा जसरी पनि यो पटक सरकारको नेतृत्वमा एमालेले गर्नुपर्ने आवाज उठेको र तिनै विषयलाई प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले नेताहरु बताउँछन् ।

कर्णालीको नेतृत्वका लागि दुबै दलहरुले आ–आफ्नो तरिकाले केन्द्रमा ‘लबिङ’ गरिरहेका छन् । केन्द्रले प्रदेशको टुङ्गो लगाउने भएकाले प्रदेशमा भने दलहरुबिच खासै छलफल नभएको दुबै दलका नेताहरुको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.