कृष्णभक्ति : हिन्दुत्व हो वा दैवी वर्णाश्रम ?

रिपोर्ट नेपाल | 2018 Sep 02 | 02:36 pm 3905

“यदाकदा भारतीय साथै प्रवासी भारतीयहरुले समेत हामीले हिन्दु धर्म प्रचार गरिरहेका छौं भन्ने गर्छन्, तर हामीले हिन्दु धर्म प्रचार गरिरहेका छैनौं….। हामीले सम्प्रादायिक धर्म प्रचार गरिरहेका छौं भन्ने मानिसहरुले नसोचून् । हामीले त केबल भगवत्प्रेमको शिक्षा दिइरहेका छौं ….हामीले विश्वभरि आध्यात्मिक संस्कृति प्रस्तुत गरिरहेका छौं । यसले जीवनका सम्पूर्ण समस्याहरुलाई सुल्झ्याउन सक्छ । यसलाई विश्वमा सर्वत्र स्वीकारिँदै आएको छ ।”

विश्वका जताततै फैलिन पुगेको कृष्णभावनामृत अभियानले हिन्दु धर्मको प्रतिनिधित्व गरेको छ भन्नु एउटा भ्रम मात्र हो । कृष्ण भक्ति भनेको अन्य धार्मिक सम्प्रदायका मत र मान्यताहरुलाई होच्याउने र अवहेलना गर्ने खालको धर्म पनि होइन । यो कृष्णभावनामृत अभियान वास्तवमा सम्पूर्ण मानव समाजको हित र श्रीवृद्धिका लागि प्रस्तुत गरिएको एउटा महत्वपूर्ण सांस्कृतिक अभियान हो । यस अभियानले कुनै विशेष धार्मिक सम्प्रादायिकतालाई प्रचार गरिरहेको छैन । यस सांस्कृतिक अभियानले त मानिसहरुलाई खासगरी प्रभु–प्रेमको सन्देश दिइरहेको छ ।

यदाकदा भारतीय साथै प्रवासी भारतीयहरुले समेत हामीले हिन्दु धर्म प्रचार गरिरहेका छौं भन्ने गर्छन् । तर, वास्तवमा हामीले हिन्दु धर्म प्रचार गरिरहेका छैनौं । भगवद्गीतामा “हिन्दु” शब्द कतै पनि उल्लेख गरिएको छैन । सम्पूर्ण वैदिक वाङ्मयहरुमा “हिन्दु” भन्ने शब्द पाइदैन । भारतको सीमावर्ती देश अफगानिस्तान, बलुचिस्तान र पर्शियातिर रहने मुसमानहरुले यो शब्दलाई सूत्रपात गरेका हुन् ।

भारतका उत्तरपश्चिमी राज्यको सीमा सिन्धु नदीले छुट्याएको छ । सीमा पारी रहने मुसलमानहरुले सिन्धु शब्द उच्चारण गर्न सक्दैनथे । उनीहरुले सिनधु नदीलाई “हिन्दु” नदी भन्ने गर्दथे । सिन्धु नदीको पूर्वीतटमा अवस्थित राज्यमा राज्यमा बस्ने भारतीयहरुलाई पनि उनीहरुले “हिन्दु” नै भन्ने गरे । भारतीयहरुले युरोपेलीहरुलाई संस्कृतमा ‘म्लेच्छ’ अथवा ‘यवन’ भनेजस्तै मुसलमानहरुले भारतीयहरुलाई “हिन्दु” भन्ने गरेका हुन् ।

भारतीय सभ्यता र संस्कृतिलाई भगवद्गीतामा वर्णन गरिएको छ । भगवद्गीताअनुसार गुण र कर्मका आधारमा चार सामाजिक वर्ग र चार आध्यात्मिक वर्ग (आश्रम) मा वर्गीकरण हुने बताइएको छ । यिनै सामाजिक एवम् आध्यात्मिक वर्ग विभाजन पद्धतिलाई वर्णाश्रम धर्म भनिएको छ । ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चार सामाजिक वर्ग हुन् । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास चार आध्यात्मिक वर्ग हुन् ।

पुराणशास्त्रहरुमा वर्णाश्रम व्यवस्थाबारे सवस्तिार वर्णन गरिएको छ । वैदिक सनातन धर्मअन्तर्गत मानव समाजले अवलम्बन गर्ने वर्णाश्रम व्यवस्थाको मूलभूत उद्देश्य हो चारै वर्ण र चारै आश्रमका मानिसहरुलाई भगवान् श्रीकृष्णका बारेमा सुशिक्षित गराउनु । सम्पूर्ण वैदिक कार्ययोजना यिनै लक्ष्यतर्फ केन्द्रित रहेको छ ।

श्रीचैतन्य महाप्रभुले रामानन्द रायसँग संवाद गर्नुभएका बेला उनलाई सोध्नुभयो, “मानवता र मानवीय सभ्यताको पहिचान के हो ? ” जब मानव समाजमा वर्णाश्रम धर्म स्वीकारिन्छ, तब मानवता र मानवीय सभ्यताको प्रारम्भ हुने कुरा रामानन्द रायले उत्तर दिए । हुन पनि वार्णाश्रम धर्मको आचरण नगरेसम्म कथित मानव सभ्यतालाई मानव सभ्यता भन्न सकिन्न । तसर्थ, यस कृष्णभावनामृत अभियानले मानव सभ्यताको पूर्वाधार एवम् परिचायकका रुपमा मानिएको दैवी वर्णाश्रम व्यवस्थालाई स्थापित गर्न खोजिएको छ।

अहिलेको वर्तमान भारतमा वर्णाश्रम व्यवस्था विकृतिर्फ धकेलिएको छ । उदाहरणार्थ, कसैले ब्राह्मण कुलमा जन्म लिएको छ भने यथायोग्य संस्कार नभए पनि उसले ब्राह्मण हुँ भन्ने दाबी गर्छ, तर यस्ता कोरा दाबीलाई शास्त्रमा कतै पनि मान्यता दिइएको छैन । गोत्र वा बंशानुक्रम अनुसार कुनै मानिसका पूर्वजहरु ब्राह्मण हुन सक्दछन्, तापनि वर्णाश्रम व्यवस्थापनमा व्यक्तिको जन्म र जातलाई मान्यता नदिई गुण र कर्मलाई उसको पहिचान मानिएको छ ।

त्यसैले, हामीले हिन्दु धर्मका विद्यमान मान्यताहरुलाई प्रचार गरिरहेका छैनौं । शंकराचार्यको सन्देशद्वारा प्रभावित हिन्दुत्व र तिनको मान्यतालाई पनि हामीले जनसमक्ष ल्याउन खोजेका छैनौं किनभने शंकराचार्यले ब्रह्म वा ईश्वरलाई निराकार– निर्गुण बताउनुभएको छ र त्यसरी ईश्वरको सत्तालाई प्रकारान्तरमा उपेक्षा गरिएको छ ।

शंकराचार्यको उद्देश्य विशेष प्रकारको थियो । बौद्ध धर्मको प्रभावलाई निराकरण गरी वैदिक सनातन धर्मको पुनस्र्थापना गर्न उहाँ आउनुभएको थियो । २६०० बर्षपूर्व सम्राट अशोकको संरक्षकत्वमा बौद्ध धर्म प्रचारित भएकाले भारतमा प्रायः सर्वत्र बौद्ध धर्म फैलिनु पुगेको थियो । वैदिक साहित्यमा उल्लेख भएअनुसार बुद्धलाई विष्णुको अवतार मानिएको छ ।

उहाँलाई विशेष शक्ति प्राप्त भएको थियो र विशेष कार्य सम्पन्न गर्नका लागि उहाँको अवतरण भएको थियो । तत्कालीन मानिसहरुले उहाँको मतलाई व्यापकरुपमा स्वीकार गरे, तर उहाँले वेद र वैदिक मान्यतालाई ठाडै उपेक्षा गरिदिनुभयो । त्यसरी बौद्ध धर्मको प्रचारप्रसार हुन थालेपछि भारतलगायत अन्यत्र सबैतिर वैदिक धर्म–संस्कृति ठप्प हुन पुग्यो । त्यसैले, बौद्ध दर्शनलाई अन्यत्र धपाई वैदिक सनातन धर्मको पुनस्र्थापना गर्न उहाँले बौद्धहरुसमक्ष मायावाद दर्शन प्रस्तुत गर्नुभयो ।

यथार्थमा भन्ने हो भने मायावाद दर्शन आफैंमा नास्तिकवाद हो किनभने मायावाद दर्शनको मान्यता अनुसार ईश्वर छ भन्ने कल्पना गरिनछ । यो मायावाद दर्शन अनादिकालदेखि विद्यमान रहि आएको छ । वर्तमान भारतीय धर्म–संस्कृति पनि यही मायावादी दर्शनद्वारा प्रभावित रहेको छ । मायावाद दर्शनले वास्तवमा बौद्ध दर्शनसँग सम्झौता रहेको छ ।

मायावाद दर्शनमा ईश्वर नभएको मानिन्छ अथवा ईश्वर भए पनि उनी निराकर एवम् सर्वव्यापी भएको उनलाई कुनै पनि रुपमा कल्पना गर्न सकिन्छ भन्ने गरिन्छ । यो सिद्धान्त शास्त्रसम्मत सिद्धान्त होइन किनभने वैदिक ग्रन्थहरुमा अनेकौं देवताहरुको वर्णन गरिएको छ र ती देवताहरुलाई विधिपूर्वक पूजा गरिए तापनि अन्ततोगत्वा भगवान् विष्णुलाई सर्वेश्वर मानिएको छ । साथै सर्वेश्वर भगवान् विष्णुको सत्तालाई स्वीकार्नु नै वास्तवमा वैदिक सनातन धर्म हो ।

वैदिक सनातन धर्म अन्तर्गत रहेको भक्तिदर्शनमा भगवान् तथा देवताहरुको अस्तित्वलाई उपेक्षा गरिएको छैन । तर, मायावाद दर्शनमा भगवान् र देवताहरुको सत्तालाई स्वीकारिएको छैन । यसमा न भगवानलाई मानिन्छ, न त देवताहरुलाई । भगवान् वा देवताहरु भए तापनि अन्ततः सबैथोक शून्यतामा गएर विलीन हुन्छन् भन्ने मायावादीहरुको मान्यता छ ।

समाजमा दीर्घकालदेखि पूजा गरिँदै आएका विष्णु, दुर्गा, शिव वा सूर्यादि कुनै पनि देवताहरुको कल्पना गर्दै पूजा गर्न सकिन्छ भनेर उनीहरु भन्दछन्, तर यस्तो भन्ने गरे तापनि उनीहरुले कुनै पनि देवताको अस्तित्वलाई स्वीकारेको हुँदैन । निराकर ब्रह्ममा चित्त एकाग्र तुल्याउन गाह्रो हुने भएकाले यी देवताहरुमध्ये कसैको रुपको कल्पना गर्नुपर्छ भन्ने मायावादीहरुको भनाइ छ । यो एउटा नवनिर्मित उपासना पद्धति हो, जसलाई पञ्चोपासना भन्ने गरिन्छ । यो पञ्चोपासना पद्धति शंकराचार्यद्वारा सुरु गरिएको हो । तर, भगवद्गीतामा यस्ता मत र मान्यतालाई कतै पनि उल्लेख गरिएको पाइन्न । त्यसैले, यस किसिमको पञ्चोपासनालाई प्र्रामाणिका मान्न सकिन्न ।

भगवद्गीतामा देवताहरुको अस्तित्वलाई स्वीकारिएको छ । त्यसैगरी, वेदमा पनि देवताहरुको वर्णन गरिएको छ । त्यसैले, देवताहरुको अस्तित्वलाई कसैले पनि नकार्न सक्दैन । तर पनि, शंकरचार्यको मतानुसार तिनलाई बुझ्न वा पूजा गर्नु विधिसम्मत मानिदैंन । भगवद्गीतामा त देवोपासनालाई निरुत्साहित गरिएको छ । भगवद्गीता(७।२०) मा स्पष्ट रुपमा भनिएको छ :

कामैस्तैहृतज्ञानाः प्रपद्यन्तेस्न्यदेवताः ।
तं तं नियममास्थाय प्रकृत्या नियताः स्वया ।।

“जसको चित्तलाई कामवासनाले हरण गरिदिएको छ, उनीहरु अन्य देवताहरुको शरणमा गई आ–आफ्नो स्वभावअनुसार विधिपूर्वक तिनको पूजा गर्छन् ।”
भगवद्गीता (२।४४)मा भगवान् अझै हुनहुन्छः

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधियते ।।

“जसको चित्त भोग र ऐश्वर्यमा अति असक्त रहेको छ र तिनै कुराहरुले जो विमोहित भएका छन्, उनीहरुमा भगवद्भक्तिका निम्ति निश्चयात्मिक बुद्धिको उदय हुँदैन ।” आफ्ना स्वार्थपूर्तिका लागि विभिन्न देवताहरुको पूजा गर्नेहरुलाई ‘हृतज्ञाना’ भनिएको छ । अर्थात् उनीहरुको मति भ्रष्ट भएको मानिन्छ । यिनै कुराहरुलाई फेरि भगवद्गीता (७।२३) मा पनि स्पष्ट पारिएको छ :

अन्तवत्तु फल तेषां तद्भवत्यल्पमेधसाम् ।
देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि ।।

“अल्प बुद्धि भएका मानिसहरु देवताहरुको पूजा गर्दछन् र तिनको फल पनि अनितय एवम् नाशवान् हुन्छन् । जो देवताहरुको पूजा गर्छन्, उनीहरु देवलोकमा जान्छन् तर मेरा भक्तहरु मेरै परमधाममा पुग्छन् ।” देवताहरुबाट प्राप्त हुने फल अनित्य हुन्छ किनभने अनित्य शरीरसँग सम्बद्ध रहेको कुनै पनि भौतिक सुविधा अनित्य नै हुन्छ ।

आधुनिक विज्ञान र प्रविधिबाट प्राप्त हुने सुविधा तथा देवताहरुबाट प्राप्त हुने वरदान शरीरसँगै नाशिन्छन् । तर, भगवद्भक्तिको साधनामा साधकले जति प्रगति गर्न सक्छ, त्यसको कहिल्यै विनाश हुँदैन ।

हामीले सम्प्रादायिक धर्म प्रचार गरिरहेका छैनौं । मानिसहरुले त्यस्तो नसोचून । हामीले त केवल भगवानलाई प्रेम गर्ने शिक्षा दिइरहेका छौं । ईश्वरका बारेमा मानिसहरुका भिन्न–भिन्न मत भएको पाइन्छ । अर्कातिर नास्तिकहरु चाहिँ ईश्वरमा विश्वास नै गर्दैनन् ।

नोबेल पुरस्कार विजेता प्राध्यापक ज्याकेस मोनोडाजस्ता नास्तिकहरुले विश्वको सृष्टि साथै सृष्टि–प्रपञ्च संयोगवश हुने गर्छन् भन्ने दाबी गरेका छन् (यस्तो नास्तिक मतलाई चार्वाकमुनिजस्ता पूर्वीय नास्तिक दार्शनिकहरुले निकै अघि प्रस्तुत गरिसकेका थिए ) त्यसैगरी, अन्य पूर्वीय दर्शनहरु पनि छन्, जस्तै कर्ममीमांसा दर्शन । कर्ममीमांसा दर्शनमा ईमानदारिता साथ राम्रो कर्म गरे रामै्र फल मिल्छ र राम्रो फल पाउन ईश्वरलाई पुकार्नुपर्दैन भन्ने मान्यता छ । कर्ममीमांसा दर्शनलाई मान्नेहरु भन्ने गर्छन्, औषधि सेवन गरे रोगीको रोग आफैं निको हुन्छ । तर, यस सन्दर्भमा हामी पनि तर्क दिन सक्छौं, रोगीलाई जतिसुकै उत्तम औषधि दिए तापनि आखिर उसको मृत्यु हुन्छ नै ।

औषधिले रोगीलाई अमर बनाउन सक्दैन । त्यसैले, कर्म मात्र सबैथोक होइन । कर्मतन्त्र भन्दा पनि उच्चतर सत्ता हो दैवनेत्रेण अथात् परमेश्वरको सत्ता । परमेश्वरको सत्ता नभइदिएको भए सज्जन एवम् धनी मानिसको छोरो सडकमा लफुङ्गो भएर किन हिँड्छ ? अथवा रात–दिन ईमान्दारीसाथ काम गरी धनी बन्न पुगेका मानिसलाई उसको चिकित्सकले किन चेतावनी दिन्छ, “तपाईको स्वास्थ्य नाजुक छ । अबदेखि तपाईले खानेकुरा नखानुहोस् । पानीमात्र पिएर बस्नुहोस् ।”

कर्ममीमांसा दर्शनले ईश्वरको इच्छा र निर्देशनविना यो जगत् चलिरहेको छ भन्ने गर्छ । यसमा काम (काहहैतुकम्) नै प्रत्येक कार्यको कारण हो भन्ने गरिन्छ । कर्ममीमांसा दर्शनका अनुयायीहरु भन्छन्, कामवासनाले उत्तेजित भएर पुरुष स्त्रीसँग मोहित हुन्छ । संयोगवश स्त्रीसँग उनको यौन सम्पर्कहुन्छ र स्त्री गर्भवती पनि हुन पुग्छिन् । उनीहरु भन्छन्, स्त्रीलाई गर्भवती बनाउने कुनै खास योजना तयार गरिएको हुन्न, संयोगवश पुरुष र स्त्रीबीच यौन सम्बन्ध हुन्छ र सन्तान उत्पन्न हुनेगर्छन् भगवद्गीताको सोह्रौं अध्यायमा यही आसुरी मतको वर्णन गरिएको छ । यस असुरी मत अनुसार संयोग र आकर्षक नै सबै कार्यहरुको कारण मानिएको छ । सनतानको चाहना नभए परिवार नियोजनको साधन अपनाउन सकिने अवधारणालाई समेत यस आसुरी मतमा समर्थन गरिएको छ ।

वास्तवमा कुनै पनि कार्य सम्पादन गर्न एउटा महान् कार्ययोजना तयार गरिएको हुन्छ । त्यो कार्ययोजना हो वैदिक कार्ययोजना । वैदिक साहित्यमा पुरुष वा स्त्रीको विवाह गर्ने विधि, गर्भाधान संस्कार गरी सनतान जन्माउने विधि र यौन सम्पर्कको प्रयोजनसमेत बताइएको छ । भगवान् भगवद्गीतामा भन्नुहुन्छ, शास्त्रीय विधि अनुसार धर्मपूर्वक गरिएको यौन सम्पर्कलाई मान्यता दिन सकिन्छ तर संयोगवश जथाभावि गरिने यौन सम्पर्कलाई मान्यता दिन सकिन्न । यदि जथाभावि यौन सम्पर्क गरिन्छ र छोराछोरी जन्माइन्छन् भने त्यस्ता छोराछोरीहरुलाई वर्णसंकर वा अवाञ्छित सन्तान भन्दछन् । पशुले जथाभावि यौन सम्पर्क गरेतापनि कुनै दोष छैन, तर मनुष्यका लागि पशुवत् यौन सम्पर्क गर्नु ग्राह्य मानिदैंन । मानिसका लागि कुनै कार्ययोजना छैन वा सबै कुरा संयोग र आवश्यकताको कारण उत्पन्न हुन्छ भन्ने नास्तिक मतलाई हामी स्वीकार्न सक्दैनौं ।

श्रीपाद शंकुचार्यको मत पनि लगभग यिनै संयोग तथा आवश्यकताको विचारधारसँग मिल्दो जुल्दो छ किनभने उहाँको मतमा पनि ईश्वर छैन, समाजमा अमन–चयन कायम गर्न ईश्वरको कुनै पनि रुपको कल्पना गर र आफ्नो काम गर्दै जाऊ भनिएको छ । यता हाम्रो मान्यता भने एकदमै फकर छ किनभने हाम्रो मान्यता शास्त्रप्रमाणमा आधारित रहेको छ । भगवान् श्रीकृष्णले दैवी वर्णाश्रम धर्मलाई निर्देशन गर्नुभएको छ । आजभोली मानिदै आएको जाति व्यवस्थालाई हाल भारतमा पनि भत्र्सना गर्न थालिएको छ । यसरी भत्र्सना गरिनु स्वभाविक हो किनभने जन्म–जातका आधारमा विभिन्न मानिसहरुको वर्गीकरण हुनु वैदिक वा वैदी वर्णाश्रम व्यवस्था होइन ।

समाजमा बहुवर्गीय माजिसहरु छन् । कोही इनिजनियर छन्, कोही स्वास्थ्यकर्मी वा चिकित्सक छन्, कोही रसायनविद् छन् र कोही व्यापारी छन् । यी वर्गहरुको पहिचान जन्मको आधारमा नभई गुणा रकर्मको आधारमा गरिन्छ । जन्म–जातको वर्गीकरण व्यवस्थालाई वेद–पुराणादि शास्त्रहरुमा कतै पनि मान्यता दिइएको छैन र हामीले यस्ता शास्त्रविरुद्ध धारणालाई स्वीकारेका पनि छैनौं । विद्यमान जातिवादी व्यवस्थासँग हाम्रो कुनै सरोकार छैन । हाल यसलाई भारतीय जनताले समेत उपेक्षा गरिसकेका छन् । हामीले त विश्वको कुनै पनि भूभागमा रहेका कुनै पनि मानिसलाई संस्कारसम्पन्न ब्राह्मण बन्ने र जीवनको सर्वोच्च सिद्धि प्राप्त गर्ने सुअवसर प्रदान गरिरहेका छौं ।

वर्तमान कालमा विज्ञ ब्राह्मण (मार्गद्रष्टा) तथा क्षत्रिय (कुशल शासक)हरुको अभाव भएकाले सम्पूर्ण विश्व शूद्र(श्रमिक वर्ग)हरुद्वारा शासन गरिएको छ । त्यसैले, समाजमा थुप्रै अनियमितता र विसंगतिहरु देखिएका छन् । यिनै अनियमितता र विसंगतिहरुको अन्त्य गर्न हामीले यस कृष्णभावनामृत अभियानलाई विश्वभरि फैलाउन खोजिरहेका छौं । विज्ञ ब्राह्मण वर्गको पुनस्र्थापना गर्न सके क्षत्रिय, वैश्य र शूद्रजस्ता अन्य अंगहरुको संरचना स्वतः व्यवस्थित हुनेछ । जस्तै, शरीरमा शिरलाई सन्तुलित र व्यवस्थित राखिएको छ भने पाखुरा, पेट र गोडा जस्ता अंगहरुले राम्ररी काम गर्नेछन् । सामाजिक संरचना सुव्यवस्थित गर्नुका साथै मानिसहरुमा प्रभु–प्रेमको शिक्षा दिनु यस अभियानको उच्चतम उद्देश्य हो । मानव जीवनको परम पुरुषार्थ कृष्णप्रेम हो भनेर श्रीचैतन्य महाप्रभुले पनि बनाउनुभएको छ, प्रेम पुमार्थो महान् ।

यस कृष्णभावनामृत अभियानले हिन्दु धर्म वा अन्य कुनै सम्प्रादायिक धर्मको मत र मान्यतालाई जनसमक्ष ल्याएको छैन । इसाई धर्म मान्ने कुनै पनि सज्जनले हिन्दुत्वलाई स्वीकार्न चाहन्न भने हिन्दु धर्म–संस्कृतिलाई मान्ने कुनै पनि हिन्दुले इसाई मत स्वीकार्न चाहन्न । यस्ता मतान्तरण र रुपान्तरण तिनै मानिसहरुले मात्र स्वीकार्न चाहन्छन्, जसले समाजमा स्वधर्म र स्व–संस्कृतिलाई ठम्याउन नसकी विस्थापित भएर बस्नुपरेको छ ।

तर हिन्दु, इसाई, इस्लाम वा बौद्धादि जोसुकै होउन्, हरेक मानिसले ईश्वर सम्बन्धी दर्शन र विज्ञानलाई बुझ्न चाहन्छ । त्यसैले, विश्वमा सर्वत्र फैलिन पुगेको यस कृष्णभावनामृत अभियानले तथाकथित हिन्दु धर्म र हिन्दुत्व पैचार गरिरहेको छैन भन्ने कुरा हरेक मानिसले स्पष्टरुपमा बुझ्नुपर्दछ । हामीले त विश्वभरि शाश्वत सनातम धर्म र सनातम धर्म र सनातम आध्यात्मिक संस्कृति प्रस्तुत गरिरहेका छौं, जसले मानवमात्रका सम्पूर्ण समस्याहरु समाधान गर्नेछ । तसर्थ, यस अभियानलाई विश्वभरि स्वीकारिएको छ र स्वीकारिँदै आएको छ ।
(अात्मविज्ञनबाट)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.