काठमाडौं, भदाै ३१ः विशेष अदालतले कृषि विकास बैंकको ४ करोड रुपैयाँभन्दा बढी रकम घोटालामा दोषी देखिएका नेपाली सेनाका पूर्वसहायक रथी रमेशराज विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई सजाय निर्धारण गरेको छ ।
विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले गत ७ भदौमा दोषी ठहर गरे पनि सजाय भने सोमबार निर्धारण गरेको हो ।
३१ लाख ३८ हजार ६ सय ४४ जरिमाना
पूर्वसहायक रथी विष्टलाई विशेष अदालतले चार वर्ष कैद सजाय सुनाउनुका साथै ३१ लाख ३८ हजार ६ सय ४४ रुपैयाँ जरिमाना सुनाएको छ । त्यस्तै, अदालतले बैंकको ‘टेलर सहायक’ दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सजाय सुनाउँदै ३ करोड ९२ लाख ४४ हजार जरिमाना भराउन भनेको छ ।
अख्तियारको अनुसन्धानमा टेलर सहायक रेग्मीले पूर्वजर्नेल विष्टको खातामा हिनामिना गरेकामध्ये ३३ लाख जम्मा गरेको भेटिएको थियो । विष्टलाई अदालतले जरिमाना सजाय निर्धारण गर्दा खातामा हालेको रकम आधार बनाइएको छ ।
बाँकी रकम बैंककी टेलर सहायक दीपिका रेग्मीले हिनामिना गरको देखिएपछि सोहीबमोजिम अदालतले सजाय निर्धारण गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्युरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २९ पुस २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा दायर अन्य प्रतिवादीलाई भने विशेष अदालतले सफाइ दिएको छ ।
बैंक घोटाला प्रकरणमा जर्नेल विष्ट र रेग्मीसहित तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहठ्ठा, तारानाथ पाण्डे र दुर्गा ज्वेलरीका सञ्चालक घतानी गरी आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रूपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
राष्ट्र बैंकको निर्देशनविपरीत उनीहरूले रकम हिनामिना गरेको पाइएपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बैंकिङ कसुर मुद्दामा उच्चअदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले ७ फागुन २०७६ मा पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका सञ्चालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो ।
पूर्वजर्नेल विष्टलाई ३१ लाख ६८ हजार ८ सय ६४ रुपैयाँ बिगो, घतानीलाई २७ लाख २१ हजार बिगो र रेग्मीलाई ३ करोड ६५ लाख २३ हजार ७ सय ४७ रुपैयाँ बिगो हुने फैसला सुनाइसकिएको छ । अन्य प्रतिवादीलाई भने उच्चअदालत पाटनले सफाइ दिएको छ ।
उच्चअदालतले ‘पदीय विश्वास दुरुपयोग गरी नियोजित रूपमा कसुर गरेको’ भन्दै रेग्मीलाई पाँच वर्ष कैद, बिगो र सोबमोजिमको जरिमाना हुने, पूर्वजर्नेलले रेग्मीले हिनामिना गरेको रकम लुकाउन सहयोग गरेको भन्दै बिगोसँगै २ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
अर्का प्रतिवादीलाई पनि बिगोबमोजिमको जरिमाना र दुई वर्ष कैद सजाय निर्धारण गरिएको थियो । राजधानी दैनिकबाट