कुलपतिकाे ‘ग्रिन सिग्नल’ पछि, स्ववियु निर्वाचनको तयारी त्रिविमा

| 2022 Dec 12 | 08:02 am 1509

काठमाडौं, मंसिर २६ः त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ पाएपछि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने तयारी शुरू गरेको छ ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कुलपति एवं प्रधानमन्त्री देउवासँग स्ववियु निर्वाचन गर्ने विषयमा सल्लाह माग्दा ‘तयारी गर्नू’ भन्ने जबाफ पाएपछि तयारी थालिएको हो ।

‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि कुलपतिज्यूसँग सल्लाह लिएको थिएँ, त्यसबेला निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको थियो’ उपकुलपति प्राडा बास्कोटाले आइतबार नेपाल समाचारपत्रलाई जानकारी दिए– हामीले त्यसै बेलादेखि तयारी थालेका छौं ।

उनका अनुसार नयाँ सरकार आउनासाथ विद्यार्थी संगठनहरूसँग सल्लाह लिएर निर्वाचन गरिनेछ । त्रिविले फागुन १४ गते नै निर्वाचन गर्नेगरी तयारी अघिबढाएको छ । त्रिविले केही दिनअघि निर्वाचन गर्ने विषयमा गृहमन्त्री वालकृष्ण खाँणसँग समेत परामर्श गरेको थियो ।

गृहमन्त्री खाँणले नयाँ सरकार बनेपछि निर्वाचन गर्ने विषयमा निर्णय गर्न सुझाएका थिए ।
खाँणले प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि उनकै कार्यकालमा निर्वाचन गर्न नसकिने आशय व्यक्त गरेका थिए । उपकुलपति बास्कोटाले निर्वाचन गर्ने विषयमा त्रिविका पदाधिकारी लगायत केही सरोकारवालासँग पनि परामर्श गरिसकेका छन् ।

हामी तोकेकै समयमा निर्वाचन गर्ने तयारीमा जुटेका छौं– उपकुलपति बास्कोटाले भने । उनका अनुसार नयाँ सरकार बन्नासाथ विद्यार्थी संगठनसँग छलफल गरिनेछ । पछिल्लो १४ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र उपत्यका बाहिरका २३ क्याम्पसमा निर्वाचन हुनसकेको छैन ।

विसं २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । देशभर ६२ आंगिक क्याम्पस सञ्चालित छन् । निर्वाचन गर्न विद्यार्थी कल्याण परिषद्का अध्यक्ष एवं रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा समिति रहने व्यवस्था छ । समितिका सदस्य सचिवमा खेलकुद तथा विद्यार्थी कल्याण महाशाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.