बारा, भदौ २५ः पत्रकार बिरेन्द्र साहको हत्यामा संलग्न रहेको अभियोगमा फरार रहेका अभियुक्तलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा तेलकुवा गाबिस ७ हाल परिवर्तित महागढीमाई नपा २ तेलकुवा टोलका ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् ।
२०६४ असोज १८ गते बारा उम्जन गाबिस अन्तर्गत पिप्रा बसतपुरबाट बारा इनर्वासिरा गाबिस ८ का पत्रकार साहलाई हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी , कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेतका ५ जना व्यक्तिहरूले अपरहण गरी लगी गोली हानी हत्या गरेका थिए ।
हत्यापछि मृतकको लाश बारा डुमरवाना गाविस ७ स्थित जंगलमा खाल्टो खनि गाडेको अवस्थाम २०६४ कात्तिक २२ गते फेला परेको थियो ।
सोही कर्तव्य ज्यान मुद्दाका अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी हालसम्म फरार रहेकाले खोजीकार्य गर्दै जाँदा १३ वर्षपछि २०७७ भदौ २५ गते पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको हो ।
उक्त घटनामा संलग्न अभियुक्तहरु मध्ये मनेजर गिरीलाई २०६५ असोज १९ गते र राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अनुसन्धान पश्चात सम्मानित अदालतमा पेश गरिएकोमा निजहरूलाई सर्वस्वसहित जन्म कैद हुने ठहरी फैसला भएको छ ।
त्यसैगरी अर्का अभियुक्त कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदारलाई २०७६ फागुन २५ गते पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतको मिति २०७६ फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान गरिएको छ।
सम्मानित बारा जिल्ला अदालतको मिति २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौडाको मिति २०६९ साउन १६ गते र सर्वोच्च अदालतको मिति २०७३ पुस २० गतेको फैसला आदेशले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी फरार रही मुद्दा मुल्तबिमा रहेको थियो ।
सम्मानित अदालतबाट फैसला पश्चात फरार रहेका कुर्मीको अपराधीको मुख्य खोजीमा रहेका थिए । उनी जिल्लाको विभिन्न स्थानमा लुकिछिपि बसेको कुरा प्राविधिक अनुसन्धान तथा विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बारा कोल्हवी नगरपालिका ४ सपही टोलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ गरी यस कार्यालयमा ल्याइ राखिएकोले आवश्यक प्रकृया पुर्याई सम्मानित बारा जिल्ला अदालतमा पेश गरिने बारा प्रहरीले जनाएको छ।