संखुवासभा, बैशाख ६ः संखुवासभाको भोटखोला गाउँपालिकामा निमार्ण हुन लागेको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका अरुणको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा प्रभावित क्षेत्र,सरोकारवाला निकाय र स्थानीय बीच वातावरणीय प्रभाव मूल्यांकनको बारेमा छलफल गरिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययनले सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामािजक एवं सांस्कृतिक तथा आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भन्ने विषयको ’boutमा जानकारी गराइएको छ । प्रभावित क्षेत्रका अति विपन्न परिवारलाई निशुल्क सेयर दिन संखुवासभा प्रदेशसभा (२) का प्रदेश सदस्य विदुर सुब्बा लिङ्थेपले माग गरे । सबै स्थानीय सेयर खरिद गर्न सक्ने अवस्था नभएका कारण निशुल्क सेयर दिनु पर्ने प्रदेशसभा सदस्य लिङ्थेपको भनाइ छ । प्रभावित क्षेत्रका स्थानीय लाई रोजगारको समेत ग्यारेन्टि हुनु पर्ने प्रदेशसभा लिङ्थेपले धारण राखेका थिए ।
सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले सो आयोजना निर्माण गर्न लागेको छ । अरुण नदीमा निर्माण हुने आयोजनाको प्रभावित क्षेत्रको वातावरणमा पर्ने प्रभावका बारेमा जानकारी गराइएको थियो । किमाथांका अरुणबाट २ सय ९ घरपरिवारको ३ सय ६५ कित्ता प्रभावित हुने बताइएको छ । त्यस्तैगरी १ सय ८८ जनजातिको घर विस्थापित हुने विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रबन्धक सूर्य प्रसाद रिजालले जानकारी दिए । किमाथाङ्का अरुण भोटखोला गाउँपालिका– २ भएर बग्ने अरुण नदीमा आयोजनाका लागि ७० मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
सो बाँधका कारण अरुण नदीमा ०.३३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव करिब १४३ घनमिटरप्रति सेकेण्ड र करिब ३८० मिटरको कूल हेड प्रयोग गरी वार्षिक करिब २ हजार ४९८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको विद्युत उत्पादन कम्पनी प्रबन्धक रिजालले बताए । आयोजनाका संरचनास्थलमा पुग्नका लागि करिब २२ किलोमिटर लामो पहुँचमार्ग निर्माण तथा विद्युत गृहबाट हाइटार सवस्टेशन मार्फत केन्द्रिय प्रसारणलाइनमा जोडिने छ । उक्त आयोजनामा करीव ९३ अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राजधानी दैनिकबाट