किन तानिए रुपन्देहीबाट तीन सुरक्षा प्रमुख ?

रिपोर्ट नेपाल | 2021 Mar 30 | 01:10 pm 5325

काठमाडौं, चैत १७ः नेकपा एमालेका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई आफ्नै जिल्लाका जनताले एक कार्यक्रमबाट लखेटेपछि रुपन्देहीका तीन सुरक्षा प्रमुखलाई राजधानी तानिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेललाई प्रधान कार्यालयमा तानेर मनोज केसीको काज सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कमाण्ड सेन्टरका प्रमुख केसीलाई चुनौतीपूर्ण मानिएको रुपन्देही प्रहरीको जिम्मा लगाएका छन् ।

महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठन सुधार र संघीय प्रहरीका बिषयमा अध्ययन अनुसन्धानका लागि गठित कमाण्ड सेन्टर केसीको नेतृत्वमा बनाएका थिए ।

आठ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएका पोखरेलको सरुवाको कारण अरु केही नभएर अर्थमन्त्री पौडेलको दबाब रहेको बुझिएको छ ।

यस्तै मन्त्री पौडेलको रिसको शिकार सशस्त्र प्रहरी बल नेपालका एसपी भरत खनियाँ पनि भएका छन् । उनको ठाउँमा राजेश उप्रेतीलाई पठाइएको छ ।

रुपन्देहीको सशस्त्र प्रहरीको २७ नम्बर गणमा रहेका खनियाँ दुई महिनाअघिमात्र सरुवा भएका थिए ।

गृह मन्त्रालयले अकास्मात तीनै सुरक्षा निकाय प्रमुखलाई सोमबार काठमाडौं तानेको हो । काठमाडौं तानिएकामा सशस्त्रका एसपी भरत खनियाँ, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे रहेका छन् । प्रजिअ घिमिरे रुपन्देही गएको सात महिना मात्र भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष हस्तक्षेपमा उनीहरुलाई काठमाडौं तानिएको स्रोतले बताएको छ । औद्योगिक कोरिडोर शिलान्यास गर्ने क्रममा मोतीपुरमा स्थानीयले मन्त्री पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई लखेटेका थिए ।

यो घटनामा प्रयाप्त सुरक्षा प्रवन्ध मिलाउन नसकेको कारण मन्त्री पौडेल असन्तुष्ट थिए । यस्तै टाइगर वान प्यालेस रिसोर्टमा अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको विषय समेत सार्वजनिक भएपछि सबैको नजर त्यहाँका सुरक्षा प्रमुखहरूमाथि थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.