काठमाडौँ, असोज ३ : उपराष्ट्रपति नन्दबहादुर पुन चीन तर्फ प्रस्थान गरेका छन् । आज बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले उनलाई बिदाई गरेका हुन् ।
उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपालस्थित विदेशी राजदूत, उच्च सरकारी र सुरक्षा निकायका अधिकारीले उनलाई बिदाइ गरेका थिए ।
उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । छेन्दुमा असोज ४ गतेदेखि शुरु हुने १७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन नेपालको तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति पुन चीन गएका हुन् ।
असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गरेपछि उपराष्ट्रपति पुन सोही दिन नै एक क्षेत्र एक मार्ग (बिआरआई) सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणमा रहँदा पुनसँग चीनका उपप्रधानमन्त्री चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र चीनका सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने कार्यक्रम भएको बताइएको छ । उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्ने भएका छन् । उपराष्ट्रपति पुन चीनको भ्रमण सकेर असोज ८ गते स्वदेश फर्किने कुरा उनको निजि सचिवालयले जनाएको छ ।