काठमाडौं, जेठ १८: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएपनि यस विषयलार्इ गोप्य राख्न खोजिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले चैत अन्तिममा भारत भ्रमणमा गएका थिए । भारतबाट फर्केपछि ओलीले चाँडो भन्दा चाँडो चीन जान चाहेका थिए । तर, भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले नेपाल भ्रमणको तालिका दिल्लीबाटै ‘फिक्स’ गरेर पठाएपछि रोकिएको थियो । तर, यसपटक भने आन्तरिक तयारी अन्तिम चरणमा पुर्याएपनि यसलार्इ सार्नवजनिक भने गरिएको छैन ।
ओली भारत गएलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बेइजिङ पुगेका थिए । यसअघि नेकपाका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले पनि चीन भ्रमण गरेर फर्किइसकेका छन् ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेसँगै ओलीको भारत भ्रमण तथा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलार्इ नजिकबाट नियालेको चीन ओलीबाट शंसकित बनेको थियो । यसपटक पनि भ्रमणमा कुनै अवरोध सिर्जना नहोस् भन्ने हेतुले भ्रमण गोप्य राखिएको हुनसक्ने एक राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले बताए ।
ओलीले यसपटक चीनमा हुने सांघाई को-अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा सहभागी हुन चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने भन्दै त्यसको दुर्इ साता पछिका लागि भ्रमण तालिका मिलाएको हो । प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति र विस्तृत कार्यक्रम पनि चीनले बुधबारै फिक्स गरेर पठाएको हो ।
सांघार्इ को-अपरेसनको सम्मेलनको समयमा जान पाएको अवस्थामा विश्व्का नेताहरूसँग भेटवार्ता हुन सक्थ्यो । सांघाई कोअपरेशनको सम्मेलन जुन ९-१० मा चिङ्दाओमा हुँदैछ, प्रम ओली १९ जुनमा चीन भ्रमणमा जाने टुंगो लागेको हो ।
चीनका लागि नेपाली राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणबारेमा बुधबारै बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ खुमलटारमा भेटेर जानकारी गराएका थिए ।
ओली चीन भ्रमणका क्रममा सिचुवान पनि पुग्ने भएका छन् । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।
यसअघि पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए ।