किन उडान थप्दै छन् अन्तर्राष्ट्रिय विमान कम्पनीले ?

| 2018 Sep 11 | 02:12 pm 2226

काठमाडौँ, भदौ २६: नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्न थालेका छन् ।

केहि दिन अगाडी थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आज मंगलबारदेखि काठमाडौँ, ओमन उडान शुरु गरेको छ ।

अहिले विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौँमा उडान गर्दै आएका छन् । नेपालको व्यावसायिक समूह आइएमइले प्रवर्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौँ उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको उक्त विमान मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सस्तो भाडामा नै सेवा दिने लक्ष्यका साथ आफूहरूले ओमनको ‘बजेट एयरलाइन्स’ भित्र्याएको आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । यात्रुले १६ हजार भाडा तिरेर ओमन उड्न सक्ने व्यवस्था गरिएको छ । एयरलाइन्सले आजदेखि नियमितरूपमा हरेक दिन बिहान ८ बजे अवतरण र ८ः४० मा उडान भर्ने गरी तालिका मिलाइएको छ ।

त्रिभुवा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आइएमइ समूहका अध्यक्ष ढकालले सस्तो मूल्यमै जहाज चढेर ओमन जान आउन पाइने गरी व्यवस्था मिलाइएको बताएका छन् ।

“वैदेशिक रोजगारीका लागि ओमन जाने नेपालीको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ । सलाम एयरको उडान तालिकापछि सहज र सरल मूल्यमा हवाइयात्रा गर्न सहज व्यवस्था मिलाइएको छ”, अध्यक्ष ढकालले भने ।

ओमनको पहिलो बजेट एयरलाइन्सको रूपमा सन् २०१७ देखि व्यावसायिक उडान शुरु गरेको हो । सलाम एयरले मस्कटलाई केन्द्र बनाएर कूल १७४ सिट क्षमताको एयरबस ३२० जहाजले विभिन्न १५ स्थानमा उडान गर्दै आएको छ । काठमाडौँ उडान थपिएपछि विमान कम्पनीको १६ औँ गन्तव्य भएको हो ।

सलाम एयरले ढाका, बाकु, टिबलिस, दोहा, दुबइ, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा, सलाला, सुहार, मस्कट र काठमाडौँमा उडान भर्नेछ । सलाम एयरले यात्रुको सुविधालाई मध्यनजर गर्दै तीन प्रकारका हवाइभाडा निर्धारण गरिएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्यटक भित्र्याउने लक्ष्य राखेकामा नयाँ विमान कम्पनीले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं चालक मोहम्मदले नयाँ गन्तव्यका रूपमा नेपालमा उडान भर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको व्यस्त कार्यतालिकाबाट मिलाएर बिहानको समयमा उडान तथा अवतरणको कार्यतालिका मिलाइएको जानकारी दिएका छन्।

नेपाली कामदार लैजान मात्रै नभइ ओमनका पर्यटन भित्र्याउन समेत विमान कम्पनी सहयोगी हुने
क्षेत्रीले विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.