काेराेनाका कारण प्रसिद्ध भोटो जात्रा नहुने

रिपोर्ट नेपाल | 2021 May 18 | 08:44 am 2249

ललितपुर, जेठ ४ः बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट डेढ सय मिटर परसम्म तानेर रथयात्रा सम्पन्न गरिएपछि प्रसिद्ध भोटो जात्रा नहुने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख खिमा वलीका अनुसार रथ बनाउने बाराहीहरूले कूल पूजा गरिसकेपछि भोटो नदेखाई यही जेठ ५ गते देवतालाई बुंङमती लगिने छ । भोटो जात्रा नहुने भएसँगै थुप्रै धार्मिक विधि र परम्पराहरू पनि तोडिएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण सांकेतिक रुपमा रथ तान्ने निर्णयसंगै भोटो जात्रा नहुने अवस्था बनेको हो । गत वर्षलाई आधार मानेर शनिबार पुल्चोकदेखि मण्ड फल्चा (सो-हखुट्टे पाटी) करिब डेढ सय मिटरसम्म रथ तानिएको थियो । कोरोना महामारीका कारण दुई वर्षयता सांकेतिक रुपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्दै आएको छ ।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याएको चार दिनपछि राष्ट्राध्यक्ष, कार्यकारी प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको हिरा, मोती, मणी, माणिक्य जडित भोटो देखाउने गरिन्छ । रथ पुल्चोकबाट तानेर गाबहाल, सुन्धारा, लगनखेल, इटीटोल हुँदै जावालाखेल पु-याउन अघिपछि कम्तीमा अढाईदेखि बढीमा पाँच महिना लगाउने गरेको छ । यसले गर्दा सो रथयात्रालाई उपत्यकाको लामो रथयात्राको रुपमा लिइन्छ ।संस्कृतिमा ऐतिहासिक निरन्तरताको प्रश्न निकै महत्वपूर्ण हुने गर्दछ ।

गत वर्षलाई नजिर मानेर यस वर्ष पनि सांकेतिक रुपमा रथ तानियो । यसले गर्दा भविष्यमा त्यस्तो केही अवस्था आएमा फेरी सांकेतिक रुपमा रथ तान्न मिल्ने रहेछ है भन्ने मान्यता जनमानसमा क्रमशः स्थापित हुँदै जाने खतरा रहेको भन्दै बुङमतीका प्रसिद्ध गुरुजु विश्व बज्राचार्यले चिन्ता व्यक्त गरेका छन् । उनी भन्छन्–‘पहिला त सांकेतिक रुपमा तानियो, अहिले किन नमिल्ने भन्ने प्रश्न कसैले उठायो भने रथयात्राको परम्पराको निरन्तरतामा बाधा नआउला भनेर कसरी भन्ने ?’रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १४ सय वर्षदेखि निरन्तर रुपमा चल्दै आएको छ ।

९० सालको भूकम्प, राजा रणबहादुर शाहको पालमा बिफर महामारी हुँदा, राजामहाराजाहरू स्वर्गारोहण हुँदा पनि रथयात्रा निरन्तर रुपमा चल्दै आएको इतिहास रहेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सांकेतिक रुपमा तानिएपछि भोटो जात्रा मात्र नभई यससंग जोडिएका थुप्रै जात्रा, धार्मिक विधि विधान अनुसार गरिने पूजाहरू खण्डित हुँदै गएको रातो मच्छिन्द्रनाथका पानेजु र ज्योतिषीहरू बताउँछन् । रथ गाबहालमा पुगेपछि परम्पराअनुसार वैष्णवी देवीको पूजा, बन्धुदत्त आचार्यका सन्ततीहरूले गर्नुपर्ने गुरुपूजा र बसुन्धरादेवीको पूजा गर्ने परम्परा रहेको ज्योतिषी कृतिमदन जोशीले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.